विद्यमान समस्यालाई निकास दिन आगामी निर्वाचन नै उच्चतम विधिः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान समस्यालाई निकास दिन आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नै उच्चतम विधि भएको बताएका छन् । सोमवार टुँडिखेलमा काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले मुलुकसामु धेरै समस्याहरु रहेको उल्लेख गर्नुहुँदै युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरुप दिन प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनुको विकल्प नभएको बताए। उनले सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बन्न आह्वान गरे। देश विकासमा मिलेर समर्पित हुन उनको अनुरोध छ ।उनले इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व रहेको पनि बताए । नविन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेको उनको भनाइ छ।
राष्ट्रपति पौडेलले भने, ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो, त्यही भएर युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मुर्तरुप दिन आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ, यसलाई सफल पारेर अघि बढौँ र सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बनौं भन्ने अपिल पनि म यस अवसरमा गर्दछु सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व हाम्रो काँधमा छ, यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु, त्यसका लागि नविन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ ।’
राष्ट्रपति पौडेलले शहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवद्र्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनःस्थापना, एकीकृत सहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम भएको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE