शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने बाटो खुल्यो: इन्धन सस्तो हुने आशा

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिसाउन अनुमति दिएसँगै अब नेपालमा पेट्रोलमा इथानोल मिश्रणको प्रक्रिया सुरू हुने भएको छ । गत पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेपछि दुई दशकअघिको योजनाले बल्ल कार्यान्वयनको गति लिएको हो ।

अहिले सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन अनुमति दिएको छ । विश्वका विभिन्न देशमा १० देखि २५ प्रतिशतसम्म इथानोल मिश्रण गर्ने गरिए पनि नेपालमा हालसम्म शतप्रतिशत पेट्रोल नै प्रयोग हुँदै आएको छ । छिमेकी मुलुक भारतमा २० प्रतिशतसम्म इथानोल मिसाउने गरिए पनि त्यहाँबाट नेपाल आयात हुने इन्धनमा भने इथानोल मिश्रण हुँदैन ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टका अनुसार इथानोल मिश्रणले उपभोक्तालाई सस्तो दरमा इन्धन उपलब्ध गराउने सम्भावना छ । सरकारले यसको मूल्य निर्धारण गर्न अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र उद्योग मन्त्रालयका प्रतिनिधि सम्मिलित समिति गठन गरिसकेको छ । यदि सरकारले भन्सार र अन्य करमा सहुलियत दिएमा इथानोल प्रतिलिटर ११० रूपैयाँसम्ममा उपलब्ध हुन सक्छ, जसले पेट्रोलको समग्र मूल्य घटाउनेछ ।

स्वदेशी इथानोल प्रयोग गर्दा विदेशी मुद्राको सञ्चिति जोगिने र स्थानीय कृषकको आयआर्जनमा टेवा पुग्ने भट्ट बताउँछन् । हाल आयातित पेट्रोलमा प्रतिलिटर ६० रुपैयाँभन्दा बढी कर लाग्ने गरेको छ । इथानोल वातावरणमैत्री हुने भएकाले सरकारले यसमा सहुलियत दिनुपर्ने उनको तर्क छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार नेपालमा दैनिक औसत २० देखि २२ लाख लिटर पेट्रोल खपत हुन्छ । १० प्रतिशत मिश्रणको नीति कार्यान्वयन गर्दा दैनिक २ लाख २० हजार लिटर इथानोल आवश्यक पर्छ । तर, हाल नेपालको उत्पादन क्षमता दैनिक करिब ५० हजार लिटर मात्र छ, जुन चिनी उद्योगहरूको सह(उत्पादनका रूपमा उत्पादन भइरहेको छ । माग र आपूर्ति बीचको यो खाडल पुर्न निगमले नयाँ उद्योगी र व्यवसायीलाई यस क्षेत्रमा आकर्षित गर्ने योजना बनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x