माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
काठमाडौं । माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो । आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेको । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । उनले यस क्षेत्रबाट देवघाट जाने र फर्कने तीर्थालुहरुलाई सेवा दिइने बताए । भक्तजनको चाप भएसम्म बसले सेवा दिने उनले बताए । उनले ज्येष्ठ नागरिक तथा अन्य भक्तजनहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको बताएका छन् । भक्तजनहरुलाई राजमार्गसम्म आउन समस्या नपरोस् भनेर आँपटारी हुँदै रामनगर, देवघाट हुँदै पुनः आँपटारीसम्म सेवा दिने अर्यालले बताए । माघेसङ्क्रान्तिको अवसरमा हरेक वर्ष देवघाटमा स्नान गर्ने, मेला भर्न आउनेको उपस्थिति उलेख्य हुने गरेको छ । ज्येष्ठ नागरिकहरुलाई पैदलयात्रामा समस्या हुन सक्ने भन्दै निःशुल्क बस सेवा दिन लागिएको हो । देवघाटमा तीन लाख भक्तजन स्नान गर्न आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ । बुधबार बिहान वेणीमा लिङ्गो ठडाएर मकरसङ्क्रान्ति मेलाको सुभारम्भ गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE