बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला
काठमाडौं ।बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४ का न्यायाधीश मोहम्मद रबिउल आलमको इजलासले राजधानी नजिकैको सरकारी टाउनसिप परियोजनासँग सम्बन्धित दुई भ्रष्टाचारको मुद्दामा हसिनालाई १० वर्षसहित उहाँकी भतिजी एवम् बेलायती सांसद ट्युलिप सिद्दिकलाई चार वर्षको जेल सजाय सुनाएको छ ।
यस्तै अदालतले उनकी अर्की भतिजी अजमिना सिद्दिक र भतिजा रादवान मुजीब सिद्दिकलाई सात–सात वर्षको जेल सजाय सुनाएको छ । देशको आधिकारिक भ्रष्टाचार वाचडगले हसिनाले सरकारी अधिकारीहरूसँग मिलेर ढाका नजिकैको पूर्बाचल न्यु टाउन प्रोजेक्टमा आफ्ना र आफ्ना परिवारका सदस्यहरूका लागि सरकारी नियमअनुसार अयोग्य भए पनि अवैध रूपमा ६ वटा प्लट सुरक्षित गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले फेब्रुअरी १२ मा चुनावको तयारी गरिरहेको बेला यो फैसला आएको हो । हसिनाको पूर्व सत्तारूढ अवामी लिग पार्टीलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।
शक्तिको दुरुपयोग गरेको आरोपमा हसिना यसअघि परियोजनामा भएको भ्रष्टाचारका अन्य चार मामिलामा दोषी ठहरिनुभएको थियो । ती मामिलाहरूमा अदालतले उनलाई कुल २६ वर्षको जेल सजाय सुनाएको थियो भने उहाँका छोरा सजीब वाजेद र छोरी साइमा वाजेदलाई पाँच–पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।हसिनाकी कान्छी बहिनी शेख रेहानालाई सात वर्षको सजाय सुनाइएको थियो । उहाँहरू सबै अहिले विदेशमा हुनुहुन्छ । विद्यार्थी नेतृत्वको विद्रोहबाट निष्कासित भएपछि हसिना सन् २०२४ को अगस्ट ५ देखि भारतमा निर्वासनमा हुनुहुन्छ । विद्रोहमा सयौँ मानिस मारिएपछि उहाँलाई मानवता विरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।
उनले विशेष न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ भन्दै परीक्षण प्रक्रियाको निन्दा गरेकी छन्। हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशले गरेको अनुरोधमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE