देउवा–कोइराला समूहको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार बस्दैछ। बैठक महाराजगञ्जस्थित स्मार्ट होटलमा बिहान ११ बजे बस्नेछ।
निवर्तमान केन्द्रीय कार्यसमिति सदस्य लक्ष्मी खतिवडाका अनुसार १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूलाई बैठकमा सहभागी हुन केन्द्रीय कार्यालयका निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेलले टेलिफोनमार्फत जानकारी गराएका छन् ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि देउवा–कोइराला समूह असन्तुष्ट रहँदै आएको छ। सोही असन्तुष्टिका बीच यो समूहले समानान्तर गतिविधिहरूलाई तीव्रता दिएको हो।
निर्वाचन आयोगको निर्णयविरुद्ध यो समूहले सर्वोच्च अदालतमा दायर गरेको रिटका बारेमा बैठकमा विस्तृत छलफल हुने बताइएको छ। उक्त रिटको पेसी आगामी चैत २२ गतेका लागि तय गरिएको छ।
तत्कालीन गृहमन्त्री रमेश लेखकको पक्राउपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गर्दै समानान्तर गतिविधि सुरु गरेका थिए। आजको बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्रको आन्तरिक शक्ति संघर्षबारे पनि समीक्षा हुने बताइएको छ ।
नेपाली कांग्रेसभित्रको बढ्दो ध्रुवीकरण र संस्थापन पक्षसँगको कानुनी एवं राजनीतिक लडाइँका बीच बस्न लागेको उक्त बैठकलाई निकै चासोका साथ हेरिएको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE