उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।
शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए ।
रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो ।राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको हो । नेकपा एमालेले भने यो निर्वाचनमा भाग लिएन ।
आज सदनमा २५६ सांसद उपस्थित थिए । यीमध्ये ले रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे । राप्रपाकी सरस्वतीको पक्षमा जम्मा ५ मत खस्यो । उनलाई भोट नहाली ३७ जना भने तटस्थ बसे ।
यसअघि उपसभामुख पदको निर्वाचन प्रक्रियामा नेकपा एमाले भने सहभागी भएन । निर्वाचन अघि उपसभामुख पदको निर्वाचन प्रक्रियामा भाग लिदै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्म निरपेक्षता, लोकतन्त्र आदिमा दायाँबायाँ गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा रुबीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै यस्तो बताएका हुन् ।
श्रम संस्कृत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज सामपाङले सबैलाई सम्मान गरेर अघि बढ्नुपर्नेमा जोड दिए । नेपालमा जेन जीका कारण राजनीतिक युटर्न आएकाले आफुले ठाकुरलाई उपसभामुख पदमा अघि सारेको उनको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी सँग रिसाएका छन् । उपसभामाुखमा रास्वपाले नै प्रस्ताव गरेपछि सरस्वती लामाले उम्मेदवारी दिएको तर, पछि रास्वपाले अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भनेर उनी रिसाएका हुन् । एकातर्फ उपसभामुखको सन्दर्भमा पूराना राजनीतिक दलले आफूलाई बाइपास गरेर छलफल चलाइरहेको र अर्कोतिर रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको उनले दोहो¥याए ।तर, पछि रास्वपा र पूराना दलहरू एकातिर रहन पुगेको उनको भनाइ छ । उनले विदेशीको गोटी भइरहनेहरू र राष्ट्रवादी कित्ता क्लियर भएको भनेर पनि व्यंग्य गरे । यस्तै रास्वपाका अन्य नेताहरुले पनि रास्वपा सभापति लामिछानेले अन्तिम समयमा आफ्नो बचन फेरेको गुनासो गरेका थिए ।।
रास्वपाका सांसद अमरेशकुमार सिंहले संसद्लाई कटाक्षको थलो बनाउन नहुने बताए ।प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले संसद्लाई एकअर्कालाई घोचपेचको थलो बनाउन नहुने बताएका हुन् ।रास्वपा देशमा सुशासन, भ्रष्टाचार अन्त्य गर्ने, दिगो विकास र देश निर्माणको काममा सबैसँग हातेमालो गरेर आगामी दिनमा अघि बढ्न तयार रहेको उनको भनाइ छ ।
उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भने भाग लिएन । रास्वपाको समर्थनमा ठाकुर निर्वाचित हुने निश्चित भएकाले आफ्नो दलले भाग नलिएको नेकपा एमालेले जनाएको छ ।
नेपाली कांग्रेसले भने ठाकुरलाई समर्थन गरेको छ । ठाकुरले तटस्थ भएर राष्ट्रहितमा काम गर्नेमा आफ्नो दलले बिश्वास लिएको नेपाली कांग्रेसका सांसद बासना थापाले बताइन् ।।
नेकपाका सांसद रमेश मल्लले उपसभामुखमा आफनो समर्थन ठाकुरलाइ रहेको बताउदै सर्वसम्मत हुन आफुले पहल गरेपनि हुन नसकेको उल्लेख गरे । राप्रपाको गुनासो तर्फ संकेत गर्दै उनले राजनीतिमा इमान भन्ने कुरा पनि हुने भएकाले त्यसतर्फ ख्याल गर्न आग्रह गरे ।
उपसभामुख निर्वाचनको प्रक्रिायमा प्रतिनिधि सभामा बोल्ने अधिकांस सांसदहरुले मधेसबाट प्रतिनिधित्व गर्ने अल्पसंख्यक युवा उपसभामुखमा निर्वाचित हुनु आफैमा ऐतिहासिक प्रयास भएको बताएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE