दक्षिण पूर्वी एशियाबाट ६ सय १२ नेपालीको उद्धार, कम्बोडियामा संगठित अपराधमा थप नेपाली पक्राउ
काठमाडौं। परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एशियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तिब्रता दिएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । मन्त्रालयकाअनुसार उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४ सय ८७ जना, म्यानमारबाट १ सय ११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका छन् । उद्धार कार्यका लागि थाइल्याण्ड र म्यानमारस्थित नेपाली राजदूतावासहरूले स्थानीय निकायहरूसँग सक्रिय समन्वय र सहयोग गरिरहेका छन् ।
हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । कम्बोडिया सरकारले हालै ९ जना नेपालीलाई विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । प्रवक्ता क्षेत्रीकाअनुसार पक्राउ परेकामध्ये ५ जनालाई सङ्गठित ठगी अपराध सम्बन्धी कसुरमा ‘सिम रिप प्रोभेन्सियल कोर्ट’मा पेस गरिनेछ । योसँगै कम्बोडियामा पछिल्लो समय पक्राउ परेका नेपालीहरूको कुल सङ्ख्या १४ पुगेको छ ।
यसैबीच मन्त्रालयले परराष्ट्रमन्त्री शिशिर खनाल र जोर्डनका परराष्ट्रमन्त्री आएमान सफादीबीच टेलिफोनवार्ता भएको जानकारी दिएको छ । पश्चिम एशिया द्वन्द्वको मारमा परिरहेका बेला परराष्ट्रमन्त्री खनालले जोडानका समकक्षी सफादीसँग टेलिफोन वार्ता गर्दै त्यहाँ रहेका नेपाली कामदारहरुको जीवन सुरक्षाको विषयमा चासो राखेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रवार नियमित पत्रकार सम्मेलनमा सो वार्ताबारे जानकारी गराउँदै दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा उहाँहरुबीचको छलफल केन्द्रित रहेको बताएको हो ।
सरकारले पश्चिम एशियामा रोजगारीका लागि जाने नेपाली कामदारका लागि श्रम स्वीकृति तथा वैधानिकीकरण (लिगलाइजेसन) प्रक्रिया पुनः खुला गरेको जानकारी दिएको छ । मध्य एसिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले यस्तो जानकारी दिएका हुन् ।
महाशाखा प्रमुख खड्काले सरकारको उक्त निर्णयको कार्यान्वयन गर्न सम्बन्धित देशका दुतावासहरूलाई निर्देशनसमेत दिइसकेको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE