लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन लु चल्ने भएकाले सावधानी अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो लहर लु चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी रहने तथा थोरै ठाउँहरूमा ४० डिग्री सेल्सियस वा त्यो भन्दा बढी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको हो । विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अद्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिन सक्छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा (सुतीको कपडा) लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन विभागको आग्रह छ । यस्तै नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत विभागको अनुरोध छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE