महिनाको एक लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित छः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ्य उत्पादनको अनुपातमा विगत १० वर्षकै सानो र सन्तुलित रहेको दाबी गरेका छन् ।
सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोष्ट बजेट’ छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटको आकारलाई लिएर भइरहेका भ्रमहरू चिर्नुपर्नेमा जोड दिए । अर्थमन्त्री वाग्लेले समय र स्रोतको चरम दबाबका बीच बजेट निर्माण गरिएको स्पष्ट पारे । आगामी पाँच वर्षको कार्ययोजनासहित जग बसाल्ने गरी यस वर्षको बजेट ल्याइएको र अर्को वर्ष थप परिष्कृत योजनाहरू आउने उनले विश्वास व्यक्त गरे । बउनले जेट महत्वाकांक्षी भएको आलोचनालाई अस्वीकार गरे ।
अर्थमन्त्री वाग्लेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दाबी गरे । भर्खरै अध्ययन सकेका युवाहरूलाई स्वदेशमै आत्मसम्मानका साथ महिनाको एक लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित रहेको उनको भनाइ छ । १० लाख रुपैयाँसम्मको आयकर छुटलाई ‘क्रान्तिकारी’ कदमको संज्ञा दिँदै उनले यसबाट बजारमा मुद्रा प्रवाह बढ्ने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे । विद्युतमा भ्याट लगाउने निर्णयबाट सरकार पछि नहट्ने तर यसको भार उपभोक्तामा पर्न नदिने गरी विकल्पहरू खोजिएको डा. वाग्लेले स्पष्ट पारे ।
यस्तै, नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को बजेटले निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने, उत्पादन र लगानीलाई प्रोत्साहन गर्ने तथा सुस्त रहेको अर्थतन्त्रलाई पुनर्गति दिने दाबी गरेको छ । नाफिजले आयोजना गरेको पोस्ट बजेट छलफलमा सहभागी हुँदै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्तो दाबी गरेका हुन् । औद्योगिक विकास र निजी क्षेत्रको समस्या समाधानका लागि बजेटले महत्वपूर्ण सकारात्मक सन्देश दिएको उल्लेख गरे । परिसंघले २ सय ७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाउने र तयारी वस्तु एवं कच्चा पदार्थबीचको कर अन्तर कायम गर्ने निर्णयलाई महत्वपूर्ण कदमका रूपमा लिएको छ । यसबाट स्वदेशी उत्पादन प्रतिष्पर्धी हुने र औद्योगिकीकरणलाई गति पुग्ने अपेक्षा गरिएको छ बजेटका धेरै पक्ष सकारात्मक भएपनि केही महत्वपूर्ण विषयहरू सम्बोधन हुन बाँकी रहेको परिसंघले औंल्याएको छ ।
नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको मनोबल उच्च बनाउने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ । चेम्बरका अध्यक्ष कमलेश अग्रवालले बजेट केही महत्वाकाङ्क्क्षी देखिए पनि यसको सफल कार्यान्वयन हुनसके मुलुक आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने बताएका हुन् । सरकार गठन भएको छोटो समयमा आएको यो बजेटलाई चेम्बरले एक सकारात्मक शुरुवातका रूपमा लिएको छ । अध्यक्ष अग्रवालले व्यक्तिगत आयकरको सीमा बढाएर वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा न्यूनतम करको दायरा कायम गरिनुलाई चेम्बरले पारदर्शी अर्थतन्त्रको सुरुवातका रूपमा लिएको बताए ।
स्टार्टअप प्रवद्र्धनका लागि १० करोडसम्मको कारोबारमा ५ वर्ष आयकर छुट र फ्रिल्यान्सरहरूका लागि ५ प्रतिशत फाइनल ट्याक्सको व्यवस्थालाई पनि चेम्बरले सराहनीय कदम भनेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE