नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न, प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता भएको छ ।
औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्रीमन्त्री खनाल र समकक्षी जयशंकरबीच भएको वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, विकास सहकार्य, कनेक्टिभिटी, व्यापार, पारवहन र ऊर्जा लगायतका विषयमा व्यापक छलफल भएको हो । वार्ताका क्रममा दुवै मन्त्रीले नेपाल–भारत सहकार्यका क्षेत्रमा भएका प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि र क्षमता अभिवृद्धिमा साझेदारी विस्तार गर्ने सहमति जनाएका छन् ।
यसैबीच, भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेसबीच व्यक्तिगत रकम स्थानान्तरण सेवा औपचारिक रूपमा सुरु भएको छ । यसबाट दुई देशबीचको सीमापार डिजिटल भुक्तानी थप सहज हुने अपेक्षा गरिएको छ । वार्तापछि भारतले सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत निर्माण सम्पन्न भएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा संरक्षण परियोजना नेपाललाई हस्तान्तरण गरेको छ । द्विपक्षीय वार्तामा आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा दुवै पक्षले स्वागत गरेका छन् । यसले सीमापार अपराध अनुसन्धान र न्यायिक प्रक्रियालाई संस्थागत बनाउने बताइएको छ ।
भ्रमणकै क्रममा डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच ‘भोइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्म विकास गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE