सुस्ताका बासिन्दाद्वारा काठमाडौंको माइतीघर मण्डलामा दोस्रो दिन पनि विरोध प्रदर्शन जारी
काठमाडौं । नवलपरासी (पश्चिम) को सुस्ताका बासिन्दाले काठमाडौंको माइतीघर मण्डलामा दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन् ।
नागरिकता उपलब्ध गराउन, सीमा सुरक्षा सुदृढ गर्न तथा सुस्तावासीका आधारभूत अधिकार सुनिश्चित गर्न माग गर्दै उनिहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका हुन् । सुस्ता बचाउ अभियानको आयोजनामा भइरहेको प्रदर्शनमा सहभागीहरूले नागरिकता प्राप्तिमा देखिएको जटिलता अन्त्य गर्न, भारतीय सीमाबाट अतिक्रमण रोक्न तथा राज्यले सुस्ताको अस्तित्व र सार्वभौमिकताको संरक्षण गर्नुपर्ने माग गरेका छन् । प्रदर्शनकारीहरूले आफूहरू बसोबास गर्दै आएको सुस्ताको माटोसमेत माइतीघरमा ल्याई प्रतीकात्मक रूपमा प्रदर्शन गरेका छन्।
उनीहरूले सुस्ताको माटो प्रदर्शन गर्दै आफ्नो भूमि, पहिचान र नागरिक अधिकारको रक्षा गर्न राज्यको ध्यानाकर्षण गराएका हुन् । प्रदर्शनमा सहभागीहरूले “नागरिकता हाम्रो अधिकार हो”, “सुस्ताको सीमा सुरक्षित गर”, “सुस्तावासीलाई न्याय देऊ” लगायतका नारासहित सरकारलाई तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । नागरिकता अभावका कारण शिक्षा, स्वास्थ्य, रोजगारी, बैंकिङ सेवा तथा अन्य सरकारी सुविधाबाट समेत उनीहरू वञ्चित हुँदै आएको उनिहरुको गुनासो छ । सीमा विवाद र प्रशासनिक जटिलताका कारण दशकौँदेखि आफूहरूले विभिन्न समस्या भोग्दै आएको उनीहरूले बताउदै आएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE