सम्पती शुद्धीकरण विधेयक हतारमा ल्याइएको भन्दै सांसदहरूको आलोचना
काठमाडौं । सांसदहरूले सरकारले संसदलाई छलेर अध्यादेशमार्फत विधेयक ल्याएको र यसले विद्यमान कानूनी संरचनालाई कमजोर बनाउन खोजेको भन्दै आलोचना गरेका छन् ।
शनिवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रामकुमारी झाक्रि, खम्मबहादुर खाती र सोमनाथ पोर्तेलले संसदलाई छलेर अध्यादेशमार्फत विधेयक ल्याउनु विद्यमान कानूनी संरचनालाई कमजोर बनाउनु भएको बताएका हुन् । राष्ट्रिय सभाको बैठकमा शनिवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसद झाँक्रीले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) सम्बन्धी विधेयकलाई गहन छलफलका लागि संसदीय समितिमा पठाउन माग गरेकी छन् । उनले संसद्लाई छलेर अध्यादेशमार्फत कानून ल्याउने सरकारको कार्यशैलीप्रति आपत्ति जनाइन् । विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले संसद अधिवेशन आह्वान भइसकेको अवस्थामा अध्यादेशको सहारा लिनु लोकतान्त्रिक अभ्यासविपरीत हुने तर्क गरिन् ।यस्तै उनले छलफलका क्रममा सांसद झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी, सम्पती शुद्धीकरण र सङ्गठित अपराधको प्रसङ्ग उल्लेख गर्दै सरकारको नियतमाथि प्रश्न उठाइन् । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अघिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती समेत दिइन् । अर्थमन्त्रीले यसअघि प्रतिनिधि सभामा बोल्दै ‘अघिल्लो सरकारले आफू र आफ्नो दलका नेतामाथि सम्पती शुद्धीकरणलाई हतियार बनाएर अनुसन्धान गर्न खोजेको’ भनी दिएको बयान झुटो भएको उनँको दाबी छ
सांसद खातीले प्रश्तावित विधेयक संविधानको धारा ११४ को मर्म विपरित रहेको तर्क गरे । उनले अध्यादेश विशेष परिस्थितिमा मात्र ल्याइनुपर्नेमा सरकारले हतारो गरेको बताए । उनले सम्पती शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिने सरकारी प्रवृत्तिको पनि विरोध गरे ।
अर्का सांसद सोमनाथ पोर्तेलले सरकारले संसद अधिवेशन छलेर हतारमा अध्यादेश ल्याएको भन्दै आपत्ति जनाए । उनले सार्वजनिक बिदाका दिनमा समेत सदन चलाएर विधेयक पारित गर्न खोज्नुको कारणबारे सरकारसँग जवाफ माग गरे । उनले पनि विधेयकलाई विस्तृत छलफलका लागि समितिमा पठाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सभामा भएको यस छलफलमा सांसदहरूले विधेयकका प्रावधानहरूले कानूनी जटिलता निम्त्याउन सक्ने र यसले सुशासनमा असर पार्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।यस्तै बैठकमा बोल्ने अन्य सांसदहरुले भने मुलुकको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यानाकर्षण गराएका थिए । राष्ट्रिय सभाको शनिवार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरूले वर्षायाममा कर्णालीको सडक समस्या, सवारी दुर्घटना, मल खरिदमा देखिएको अनियमितता र शिक्षा–स्वास्थ्यको क्षेत्रमा रहेका बेथितिका विषयमा आवाज उठाएका हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE