बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली भाषालाई एकताको सूत्रमा गाँस्न विशिष्ट योगदान पु¥याएका आचार्यको स्मरणमा सोमबार बिभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

सोमवार बिहान काठमाडौंमा उहाँको स्मरणमा एक कार्यक्रम गरी २१३ औँ जन्मजयन्ती मनाइएको हो । नेपाली भाषालाई एकताको सूत्रमा गाँस्न विशिष्ट योगदान पु¥याएका आचार्यको स्मरणमा आज देशभरका साहित्यिक संघ–संस्था, विद्यालय तथा विश्वविद्यालयहरूले विशेष कार्यक्रमको आयोजना गरेका थिए । वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आचार्यले संस्कृतमा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनमानसमा पु¥याएका थिए । नेपाली भाषाको उत्थान र साहित्यको विकासमा उनले पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै हरेक वर्ष असार २९ गतेलाई भानु जयन्तीका रूपमा मनाउने गरिन्छ । यस अवसरमा सोमबार काठमाडौंको रानीपोखरीस्थित उहाँको पूर्णकदको प्रतिमामा माल्यार्पण गरिनुका साथै विभिन्न साहित्यिक गोष्ठी, काव्य वाचन तथा प्रवचन कार्यक्रमहरू सञ्चालन भएका थिए । कार्यक्रममा बोल्दै नेपाली लोक साहित्य संस्कृति र नेपाली भाषाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकी संस्कृतिविद् डा. आना एम सिस्टरले आफू नेपाल २० वर्षअघि विद्यार्थी भएर आएको बताइन् । उक्त अवसरमा उनले भानुभक्तले नेपालीमा उल्था गर्नुभएको रामायणको एउटा श्लोक समेत वाचन गरेर सुनाइन् । साथै एउटा गीत समेत उनले गाएर सुनाइन् । विदेशीको नेपाली भाषा र संस्कृतिप्रतिको मोहबारे आनाको यो सुस्पष्ट भाषा र लयवद्ध वाचनले पनि स्पष्ट पार्छ ।

भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताए । आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा मात्र सिमित नराखी, त्यसलाई आत्मसात गर्दै भाषा र साहित्यलाई थप समृद्ध बनाउनुपर्नेमा उनले जोड दिए । सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिष्पर्धा र परिवर्तनशील सामाजिक संरचनाका बीच हाम्रो मौलिक पहिचान र संस्कृतिलाई जोगाउनु चुनौतीपूर्ण रहेको उल्लेख गरे । भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनस्तरसँगको सामीप्यता आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै सभामुख अर्यालले युवा पुस्तालाई नेपाली साहित्यप्रति आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।

भानुभक्तका ‘रामायण’, ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ लगायतका कृतिहरू नेपाली साहित्यका अमूल्य निधि मानिन्छन् । नेपालका साथै दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषीहरूको बाहुल्यता रहेका स्थानहरूमा पनि भानु जयन्तीलाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ । उनको योगदानले नै नेपाली भाषालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्वपूर्ण भुमिका खेलेको साहित्यकारहरूको ठम्याइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x