बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भक्तपुरका प्रजापती समुदायको गुनासोः माटोका भाँडा बनाउन माटै पाउन छोड्यो

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं । तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायलाई भ्याइनभ्याइ छ । माटोका भाँडा अरु बेला पनि माग आउने गरे पनि तिहारको समयमा भने अन्य समयको तुलनामा बढी माग आउने प्रजापती समुदायको भनाइ छ ।

माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गइरहे पनि भाँडा बनाउने माटो प्राप्त गर्न भने कठिन हुँदै गएको प्रजापती समुदायको भनाइ छ । शुरुमा जता गएपनि माटो खनेर ल्याउन पाइने तर अहिले प्लटिङका कारण माटो पाउन मुस्किल भएको गुनासो प्रजापती समुदायको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भक्तपुरका गणेशकुमार प्रजापतीले आफूले सानैदेखि माटोको भाँडो बनाउने काम गरेको भन्दै माग राम्रो आएको बताए । उनले पालाको मूल्य पहिला पनि दुई रुपैयाँ र अहिले पनि सोही मूल्यमा विक्री ग्रिरहेको बताए । उनले विगतको दाँजोमा माग केही घटेको भएपनि माटोका भाँडाको माग अहिले पनि रहेको बताए । उनले पहिला भक्तपुरकै विभिन्न ठाउँबाट माटो खनेर ल्याउन पाउने भएपनि अहिले साँखु लगायत काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट किनेर ल्याउनुपरेको बताए ।

उनी भन्छन्, ‘सानैदेखि यो काम गर्थें, बीचमा एक पटक छोडियो र अहिले फेरि गर्न थालेको हो । माग ठिक ठिकै आएको छ । पहिला पनि पालाको २ रुपैयाँ नै थियो । अहिले पनि दुई रुपैयाँ नै हो । पहिला पहिलाको दाँजोमा माग धेरै घटेको हो । तर अहिले पनि माटोको दियो प्रयोग गर्ने धेरै नै छन् । साँखुबाट धेरै माटो आउँछ । माटो पहिला खनेर लिन पाइन्थ्यो । १०, १५ फिट खनेर । अहिले माटो लिने ठाउँमा प्लटिङभएर घरैघर भइसक्यो अहिले कन्निुपर्छ ।’

उनले माटोका भाँडा बनाउनका लागि माटो पेल्न, मुस्न, सुक्न र पाक्न समय लाग्ने गरेको बताउनु भयो । माटो एक दिनमै सुक्ने भएपनि सबै काम सक्नका लागि १५ दिनको समय लाग्ने बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘माटो पेल्ने, मुस्ने, सुकाउने, पाक्न समय लाग्छ । सुक्न एक दिनमै सुक्छ । १० देखि १२ दिनको समय लाग्छ ।’

पहिला काग तिहार आएपछि बेच्न जानुपर्ने भएपनि अहिले माटोका भाँडा लिन घरमै आउने गरेको बताए । प्रजापतीकाअनुसार सामानहरु बनाइराख्दा जहिले पनि विक्री गर्न असहज छैन । ‘पहिला काग तिहार आएपछि बेच्न जानुपथ्र्यो । अहिले यहीँ लिन आउँछन् ।’ उनले भने, ‘सामानहरु बनाइराख्दा जहिले पनि विक्री गर्न असहज हुँदैन ।’

पहिला आफूले पैसाको कमी हुँदा लसुन, सागसँग माटोका भाँडा साट्ने गरेको सम्झन्छन् हरिओम प्रजापती । उनी भन्छन्, ‘यो पहिला गल्ली गल्ली छिरेका बेच्ने गर्दथ्यौँ । पैसा कम थियो त्यो बेलामा । लसुन, अन्न जोसँग जे थियो, त्योसँगै साट्थ्यौँ । घरमा बेच्न जाँदा बुढी आमै हुन्छ, पैसा हुँदैन, साग, लसुनसँग साट्थ्यौँ ।’

बुढा भएका आमा, दिदिबिहिनीसँग पैसा नहुँदा साग, लसुनसँग भाँडा साटेको स्मरण गर्दै जोसँग जे अन्न वा अन्य कुराहरु हुन्थे त्यही लिएर भाँडा दिने गरेको बताए । अहिले माटो पाउन कठिन रहेको उनको भनाइ छ । माटो लिन पाइने ठाउँमा अहिले प्लटिङ भएको र माटोका भाँडा बेचेर खासै फाइदा नरहेको गुनासो गर्छन् । सरकारले माटोको व्यवस्था गर्नसके मात्रै आफूहरुको पेशा लोप नहुने उनको भनाइ छ ।

उनले भने, ‘माटो लिने ठाउँमा घर, प्लटिङ भइसक्यो माटो छैन । अहिले माटोको भाँडा बेचेर खासै फाइदा छैन । सरकारले माटो दिनुपर्छ । किनेर साध्य छैन । त्यसैले यो लोप हुँदै गएको छ ।’

अर्का स्थानीय एवं माटोका भाँडा व्यापारी विनोदकुमार प्रजापती पुर्खादेखिको पेशा भएकाले चट्टै छोड्न नमिल्ने बताउछन् । उनले पुख्र्यौली पेशा भएकाले माटोका भाँडा बनाउने काम गर्दै आएको बताए । पुरानै मूल्यमा भाँडा बेच्नुपर्दा उनलाई लागत मूल्य नै नउठ्ने चिन्ता भने छ । तिहारमा विशेष गरी पाला मात्रै बिक्ने उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो यो माटोको भाँडा बनाउने पुख्र्यौली पेशा हो । बाजे बराजुले बनाउनु हुन्थ्यो । हामी पनि बनाइरहेका छौँ । पुरानै रेटमा छ दियो । तिहारमा विशेष गरेर यो पाला मात्रै बिक्छ । अरु बेला सिजनअनुसारले सामानहरु बिक्छ । सदावाहर खुत्रुके, धुपाउरो, सामान बनाउन माटोको अभाव छ । दाउराको अभाव छ । इन्धनको समस्या छ । सहज रुपमा भए काम सुचारु हुन्छ ।’

अरु बेला सिजनअनुसारले सामानहरु विक्री हुने गरेको उनले बताए । खुत्रुके, धुपाउरो जस्ता सामानहरु भने सदावाहर विक्री हुने गरेको बताए । माटो पकाउनका लागि इन्धन (दाउरा)को अभाव रहेको बताए ।

माटोको भाँडा बनाउँदै आएका रोशन प्रजापतीको गुनासो पनि माटोको अभाव नै रहेको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले ३५ वर्षदेखि माटोका भाँडाहरु बनाउँदै आएका छन् । पहिला वर्षहरु भन्दा यस वर्ष माटोका भाँडाहरुको माग घटेको उनको भनाइ छ । अहिलेको आर्थिक अवस्थाले गर्दा पनि माग घटेको हुनसक्ने उनको अनुमान छ । उनी भन्छन्, ‘३५ वर्ष जति भयो मैले गर्दै आएको । पहिलो वर्ष भन्दा यस वर्ष माग धेरै घटिरहेको छ । अहिले आर्थिक अवस्था पनि कमजोर छ । त्यसैले हो कि । हाम्रो आफ्नै परिवारले गर्ने काम भएकाले ठिकै गुजारा चलिरहेको छ ।’

प्रजापती परिवारले नै गर्ने काम भएकाले कामलाई निरन्तरता दिएको र गुजारा चलिरहेको उनको भनाइ छ । माटोका भाँडा बनाउने प्रजापती समुदायलाई अहिले सरकारले माटोको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने लाग्छ । माटो पाउन मुस्किल हुँदै गएपछि आफ्नो पुस्तौंदेखिको पेशा लोप हुने चिन्ता प्रजापती समुदायलाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x