सडकबाट एमालेको चेतावनी, यो सरकारको विरोध गर्नेहरु कसैलाई छोडिँदैन (भिडियो)

काठमाडौं । सरकार र नेकपा एमालेमाथि उठेका प्रश्नको जवाफ दिन एमाले पनि सडकमा आएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सार्वजनिक रुपमा विभिन्न आरोप लगाइएपछि एमाले जागरण सभा भन्दै सडकमा ओर्लिएको हो । सभामा प्रधानमन्त्री ओलीले प्रतिपक्ष दलहरुलाई बहसमा आउन चुनौति दिए । अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको आरोप ओलीले लगाएका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको आरोप लगाएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभामा प्रधानमन्त्री ओलीले समाजमा भ्रम फैलाएर अराजकता मच्चाउनेहरूले लोकतन्त्र र संविधान मास्न खोजेको बताएका हुन् । उनले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने पनि चेतावनी दिए । कुनै कमिसनखोर, भ्रष्टाचार र आफ्ना मान्छे भर्ती गर्न यो सरकार नबनेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले लडेर ल्याएको यो व्यवस्था र तदनुकुल व्यवस्थाको रक्षा गर्दै देश र जनताको भलाइका लागि काम गर्ने दाबी गरे । केही मानिसहरूले झुटको खेती गरेपछि सबै समाज त्यस्तै भयो भनेर सोच्न सक्ने भन्दै ओलीले जनता गौरवपूर्ण इतिहास र परम्परा अनुसार चल्ने भएकाले जनता कुहिरोको काग बनेर नकुद्ने दाबी गरे । प्रधानमन्त्री ओलीले २०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरे । २०८३ असारसम्म आफू प्रधानमन्त्री र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने ओलीको जिकिर छ ।
प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने दाबी गरे । ओलीले आफू प्रधानमन्त्रीको हैसियतमा मंसिर १७ गते चीन भ्रमणमा जान लागेको भन्दै भ्रमण अत्यन्तै सफल हुने जिकिर गरे । उनले चिनियाँ परियोजना बीआरआईलाई संकेत गर्दै अहिले देशको अवस्था कसैसँग ऋण लिने अवस्था नरहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काए । उनले आरोपका लागि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती दिए । ओलीले भन्न कै लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति आफ्नो भनिदिएपनि हुने बताए । वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरे । उनले सहकारी ठग्नेहरुले आफूलाई गाली गर्न थालेको जिकिर गरे । एमालेले सत्तामा रहेको दलले सभा र ¥याली गर्न नमिल्ने भन्दै भएका टिप्पणीप्रति आपत्ति जनायो । महासचिव शंकर पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरू सधैँ जनतामा जाने र आफूहरूले पनि त्यही गरेको दाबी गरे । महासचिव पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताए ।
महासचिव पोखरेलले यति, ओम्नी, गिरीबन्धु लगायत प्रकरण एमालेविरुद्ध भ्रम फैलाउने प्रयास मात्र भएको उनले दाबी गरे । अहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको हल्ला पनि भ्रम भएको पोखरेलको भनाई छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE