संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वर स्थित संसद भवनमा बस्न लागेको हो । आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित राखिएको छ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ ।
त्यस्तै कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्ने तयारी छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
अध्यादेश निर्णयार्थ पेश गरिने भन्ने बुँदा भने कार्यसूचीमा राखिएको छैन । प्रतिनिधि सभामा कांग्रेस र एमालेसँग मात्रै आरामदायी बहुमत भएपनि राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्न सरकारलाई जसपाको पनि समर्थन आवश्यक रहेकाले सरकार अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णयबाट आजपनि पछि हटेको छ । सरकारले जसपा नेपाललाई मनाउन प्रयास गरेपनि अध्यक्ष उपेन्द्र यादवले केन्द्रको एक मन्त्रालय या मधेशको मुख्यमन्त्री मागेपछी तत्काल कुनै निर्णय हुन नसकेको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE