बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मुलुकमा सुशासन र विकास चाहिएको छ, भ्रष्टाचारसँग सम्झौता हुन सक्दैनः प्रधानमन्त्री

  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकास र सुशासन चाहिएको उल्लेख गर्दै भ्रष्टाचारीहरुसँग सम्झौता हुन नसक्ने बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सको बार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले मुलुकमा सुशासन कायम गर्न आफूपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताए । मुलुकमा अझैपनि थाहा नहुनेगरी भ्रष्टाचार भइरहेको हुनसक्ने आशंका व्यक्त गरे । मुलुकलाई तिब्र गतिमा अगाडि बढाउनको लागि एकपछि अर्को अनुकुलता मिलेको उल्लेख गर्दै अध्यक्ष ओली सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति नरहेको दाबी गरे ।

देशमा ठूलो योगदान गरेका र इतिहास बोकेका जिम्मेवार पार्टीहरु बहुमतको साथ सरकारमा रहेकोले मुलुकमा स्थिरता र स्थायित्व रहिरहने प्रधानमन्त्री ओलीको जिकिर छ । वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म जाने समेत उनको दाबी छ । मुलुकमा राजनीतिक स्थायित्वको कुरामा ढुक्क भएर लगानी गर्न तथा व्यापार व्यवसाय अगाडि बढाउन समेत उनको आग्रह छ ।

उनले भने, ‘आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशासन करप्सनसँग कम्प्रमाइज हुन सक्दैन । तर मलाई आशंका छ भ्रष्टाचार चलिरहेकै छ । म भनिरहेको छु म आफू भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न । तर थाहा नपाउनेगरी भ्रष्टाचार भइरहेको हुनसक्छ । त्यसमा तपाईहरु मद्दत चाहिन्छ । आज तिब्र गतिमा विकास चाहिरहेको छ, देशमा तिब्र परिवर्तन ल्याउनुछ । हाम्रो देशलाई अब विकासमा अगाडि बढाउनका लागि एकपछि अर्को कुराको अनुकुलता हामीसँग छ । एउटा, देशमा ठुलो योगदान गरेका र इतिहास बोकेका जिम्मेवार पार्टीहरु कम्फर्टेबल मेजरिटीका साथ देशको सरकारमा छन् । स्थिरता र स्थायित्व छ, रहन्छ । यो सकारात्मक कुरा हो । भोलि सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति छैन । यो सरकार कमसेकम ०८४ को चुनावसम्म जान्छ । त्यसपछि पनि यो शिलशला कायम रहन्छ । त्यसकारण स्थायित्वको कुरामा ढुक्क भएर आफ्नो लगानी र व्यापार, व्यवसाय गर्ने कुरामा अगाडि बढ्नुभए हुन्छ ।’

उनले वर्तमान सरकार उद्योगी व्यवसयाी तथा श्रमजिविहरुको साथमा रहेको दोहोर्‍याए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x