बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज साउन महिनाको पहिलो सोमबार, देशैभरका शिवालयमा श्रद्धालुको घुइँचो

  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज सनातन धर्मावलम्बीले भगवान् शिवको पूजाअर्चना तथा उपवास बसी मनाउँदै छन् ।

आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार । यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने गर्छन् ।

विशेषतः साउन महिनामा महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ । शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ । व्रतकर्ताले बिहानै ब्रह्म मुहूर्तमा उठेर स्नान गरी सफा लुगा लगाउने, पञ्चामृत र जलले शिवको अभिषेक गर्ने, मन्त्रजप र आरती गर्ने प्रथा रहिआएको छ ।

शिव चालिसा, रुद्राष्टक वा सोमबार व्रत कथा पनि पढिन्छ वा सुनिन्छ । शिव पुराणमा वर्णित अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट निस्किएको विष पान गरेर संसारको रक्षा गर्नु भएको थियो । ज्योतिषीय रूपमा पनि साउन विशेष मानिन्छ, किनभने सूर्य कर्कट राशिमा रहने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले मानसिक शान्तिमा सहयोग पुर्याउँछ ।

यही कारण सोमबारको व्रतले पार्वतीलाई महादेव प्राप्त भएको धार्मिक कथन पनि छ ।

साउन महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सहज पहुँचका लागि यस वर्ष निःशुल्क बस सेवा उपलब्ध गराइएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीका अनुसार चार वटा बसले चक्रपथ घुमेर भक्तजनलाई मन्दिरसम्म पुर्याउनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x