संरक्षण नहुँदा नेपालका स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरु ओझेलमा : प्रथम राष्ट्रपति यादव
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा नेपालका स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरु ओझेलमा परेको बताएका छन् ।
शनिवार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल सुन्दर मुलुक भएको बताउँदै यहाँ स्विट्जरल्याण्ड जस्ता हजारौं क्षेत्रहरु लुकेको बताए । उनले नेपालको सुन्दरतालाई बचाइराख्न जरुरी रहेको पनि उल्लेख गरे ।
प्रथम राष्ट्रपति यादवले आफ्नो जीवनकालमै चारकोषे झाडी, चुरे क्षेत्र मासिएको बताउँदै यसले अहिले तराईमा खानेपानीको समेत हाहाकार रहेको जिकिर समेत गरे ।
जलको भण्डार नै चुरे भएको उल्लेख गर्दै चुरेको संरक्षणमा जोड दिनुपर्ने उनले बताए ।
उनले भने, ‘यो नेपाल सुन्दर मुलुक छ । धेरै स्विट्जरल्याण्ड हाम्रो देशमा छन् । तर यो देशको संरक्षण छैन । चारकोषे झाडी खत्तम मेरै जीवनमा भयो । जंगल बेचेर पञ्चहरुले पहिला पैसा कमाउँथे । रातारात चुरे दोहन भइरहेको छ । तराईका आठ जिल्लामा पिउने पानीको हाहाकार छ । पूर्वी तराईमा पानी पर्दैन । जंगल छैन । चुरे पहाड खनेर लगेको छ । चुरे खनेर लगिदिएपछि प्लान्ट कहाँ लगाउने ? जलको भण्डार भनेकै चुरे हो । नैतिक आचरण हामीले निभाउनु पर्छ । यो समाजलाई कसरी बनाउने, देशलाई कसरी बनाउने भनेर सोच्नुपर्छ ।’
पूर्वराष्ट्रपति यादवले नेपालको संविधान धेरै राम्रो रहेको र यसलाई बचाएर लैजानुपर्नेमा जोड दिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE