ओलीका कारण शान्ति प्रक्रिया अवरुद्ध हुनसक्छ : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका कारण मुलुकको शान्ति प्रक्रियाका बाँकी कामहरु अवरुद्ध भएको गम्भीर आरोप लगाएका छन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महासचिव गुरुङले एमाले अध्यक्ष ओली शान्ति प्रक्रियाका सन्दर्भमा कहिल्यै पनि सकारात्मक नरहेको दाबी गरे ।
उनले ओलीका विचार, सोच र धारणाहरू “प्रो–दरबारिया“ शक्तिहरूसँग मिल्दोजुल्दो रहेको टिप्पणी गर्दै तत्कालिन समयमा दरबारिया शक्तिहरू शान्ति प्रक्रियाको विपक्षमा रहेको र ओलीको सोच पनि उनीहरूसँगै सामिप्यतामा रहेको बताए ।
गुरुङले भने, ‘उहाँका सोचहरू, विचारहरूमा तत्कालिन शान्ति प्रक्रियाका बेलामा पनि सायद उहाँ फरक सोच विचार, फरक मत रहेछ भन्ने देखिन्छ । त्यसले गर्दा पनि उहाँको सोचहरु पनि कता कता प्रो–दरबारियाहरुकै नीति, सोच र विचारहरुसँग सायद सामिप्यता थियो भन्ने लाग्छ । त्यसले गर्दाखेरी उहाँको नेतृत्व आइसकेपछि यो प्रक्रिया अवरुद्ध भएको छ ।’
पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी कानून बनाएर प्रक्रिया अगाडि बढाउने तयारी भएपनि सरकारको नेतृत्व ओलीले नै गरिरहेकाले शान्ति प्रक्रियाले गति लिनेमा गुरुङले आशंका व्यक्त गरे ।
उनले ओली नेतृत्वको सरकार शान्ति प्रक्रियाप्रति दृढतापूर्वक उभिएमा मात्र बाँकी कार्यभार हल हुने, अन्यथा यसलाई केवल राजनीतिक स्वार्थ सिद्ध गर्ने अस्त्रको रूपमा प्रयोग गरिएमा समस्या ज्युँका त्युँ रहने खतरा औंल्याए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE