मनसुनजन्य विपद्ः २२ जनाले गुमाए ज्यान, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरु परिचालन

काठमाडौं । शुक्रवार रातीदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ । शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो ।
जसमध्ये मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेप्रसाद भट्टले बताए ।
उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना भएको थियो । हाइस जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो । २२ मध्ये २१ जनाको उद्धार गरिएपनि एक जनाको खोलाले बगाउँदा ज्यान गएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए ।
इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको जानकारी दिए । उदयपुरको गिरेबी खोलामा केही मानिसहरु डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ । समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरु परिचालन गरेको बताए ।
उनले भने , ‘अरु बेलामा भन्दा कम घटना भएपनि घटनाहरु भएका छन् । उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना हुँदा, जबरजस्ती खोलामा हाल्दै गर्दा २१ जनाको उद्धार गर्न सकिए पनि त्यसबाट बगेर एक जनाको निधन भएको छ । इलाममा १८ जनाको निधन भएको खबर छ । ७ जना घाइते हुनुहुन्छ । इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको छ । चट्याङका कारणले पनि केहीको मृत्यु भएको छ । उदयपुरको गिरेबी खोलामा केही मानिसहरु फसिरहेका छन् । डुबानमा फसेकाले उहाँहरुलाई उद्धार गर्न सुरक्षा टोली परिचालन गरिएको छ । समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरु परिचालन गरेका छौँ ।’
उनकाअनुसार मनसुन अहिले पूर्वतिर सक्रिय भएको छ । पूर्वतिर बिहानैबाट पानी बढी पर्न थालेको र विस्तारै कम हुँदै गएको बताए ।
पाँच वटा ठूला नदीहरुमा नै बाढीको जोखिम रहेको उनको भनाइ छ । यातायातको बन्दको निर्णयलाई पूर्ववत नै राखिएको जानकारी दिए। विपद्को जोखिम अझै कायमै रहेको भन्दै शतर्कता अपनाउन आग्रह गरे।
पहिरो र बाढीको जोखिम अझै बाँकी रहेकाले लामो दूरीको यात्रा नगर्न आग्रह गरे। वर्षा कम भएसँगै सडक सञ्जाल सञ्चालन र विद्युत क्षेत्रको अवरुद्धता हटाउनु नै पहिलो प्राथमिकतामा रहने उनको भनाइ छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE