डा.शशि थापा पण्डितका तीन कृति एकैसाथ लोकार्पण
काठमाडौं । संस्कृति अध्येता डा।शशि थापा पण्डितका तीन कृति एकैसाथ लोकार्पण भएका छन् । काठमाडौंमा आयोजित एक समारोहकाबीच बिहीबार थापाका ‘नेपाली कलामा कामकला’, ‘मल्लकालिक नेपालका नारीहरू’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ कृतिहरू लोकार्पण गरिएको हो ।
डा.विणा पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा इतिहासविद् दिनेशराज पन्त, प्रा.डा.पेशल दाहाल र संस्कृतिविद् डा.जगमान गुरुङले संयुक्त रूपमा ती कृतिहरूको लोकार्पण गरेका हुन । कृतिकार डा.शशि थापा पण्डितले अतिथि तथा सहभागीहरूलाई धन्यवाद दिँदै तीनवटै कृतिको रचनागर्भको चर्चा गर्दै यी कृति प्रकाशन गर्न सहयोग गर्ने घरपरिवार, आफन्त, साथीभाइ, सहयोगी र गुरुहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।
‘मल्लकालिक नेपालका नारीहरू’ कृतिमाथि चर्चा गर्दै दिनेशराज पन्तले मल्लकालको सामाजिक, आर्थिक, धार्मिक अवस्थासहित नारीहरूको अवस्था पनि चित्रण गरेको बताए । पुस्तक निक्कै परिश्रम गरेर तयार गरिएकाले गल्तीरहित र सूचना युक्त भएको उनले बताए ।
प्रा.डा.पेशल दाहालले कामकलाजस्तो समाजले नै पचाउन नसक्ने विषयमा पिएचडीको शोध गरेकोले गाइड गर्न, सामग्री उपलब्ध गराउन, निर्देशन दिन पनि सुरु सुरुमा त कठिन भएको उल्लेख गरे । पुस्तकमा प्रयोग भएका तस्वीरहरू चाहिँ साना र अस्पष्ट भएकाले कलाको मूल्य मरेको बताए । ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ कृतिको चर्चा गर्दै दाहालले काठमाडौँ उपत्यकाको विकासको विजारोपण र विकासक्रममा नागार्जुन क्षेत्रको चर्चा पाइनेछ ।
यो क्षेत्रमा धेरै ऐतिहासिक र सांस्कृतिक अभिलेख र प्रमाणहरू भएको उनको भनाइ छ । मल्लकालमा पनि नाजार्गुनलाई महत्व दिने गरेको उल्लेख गर्दै अहिले पनि सो क्षेत्रको विशेष महत्व रहेको उनले बताए । सात अध्यायमा समेटिएको पुस्तकमा त्यहाँको कला, संस्कृति, चाडपर्व, मठमन्दिरहरू, चलनहरू, धार्मिक आस्थाहरू आदि सम्पूर्ण कुराहरू उजागरण भएको छ ।
संस्कृतिविद् डा.जगमान गुरुङले कामकला शास्त्रमा कृति प्रकाशन गर्ने हिम्मत डा.थापाले गरेको भन्दै यो नेपालको धर्तीपुत्रले लेखेको पहिलो किताब भएको बताए ।
डा.विणा पौड्यालले नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनजस्ता उच्चकोटिका संस्थाबाट पुस्तक निस्किनु नै गौरवको कुरा भएको बताइन । तीनवटा कृति एकै पटक प्रकाशन भएको भन्दै अब डा.थापालाई कृतिले चिनाउने पौड्यालको भनाइ छ । गम्भीर र कसैले आँटै नगरेको विषयमा शोध लेखन गरेको र त्यसलाई कृतिका रुपमा ल्याउनु नै चुनौती भएको भन्दै डा.थापालाई बधाई ज्ञापन गरेकी थिइन ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE