बुधबार, माघ ८, २०८२
Wednesday, January 21, 2026

कांग्रेसमा फुटको इतिहास

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं। देशको सबैभन्दा पुरानो यो दलले यसअघि पनि अनेक उतारचढाव भोग्दै आएको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई निष्कासित गरेपछि कांग्रेस २३ बर्षपछि फेरि फुटमा पुगेको हो ।

कांग्रेस २३ वर्षअघि पनि विभाजन भएको थियो । २०५९ जेठ २४ गते पार्टी निर्णय अवज्ञा गरेको अभियोगमा केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई तीन वर्षका लागि निष्कासित गरेपछि कांग्रेस विभाजित भएको थियो ।  देउवाले आफू निष्कासित भएपछि महाधिवेशन प्रतिनिधिहरूको भेला डाकेका थिए । मुलुक माओवादी द्वन्द्वमा रहेका बेला बोलाइएको भेला महाधिवेशनमा परिणत भएको थियो । भेलाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई नेतृत्वबाट हटाएको घोषणा गरेको थियो । त्यसपछि कांग्रेस विभाजित भएको थियो । चोइटिएको पार्टीको नेतृत्व देउवाले गरेका थिए । उनको नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक) गठन भएको थियो ।  त्यति बेला पनि चुनावको मुखमा कांग्रेस विभाजन भएको थियो ।  यद्यपि कात्तिक २७ गतेका लागि घोषित चुनाव माओवादीको हिंसात्मक गतिविधिका कारण हुन सकेको थिएन । देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिक २०६४ सालमा कांग्रेसमा समाहित भएको थियो । चोइटिएको कांग्रेसमा देउवासहित केन्द्रीय कार्यसमिति सदस्यहरू विजयकुमार गच्छदार, चिरञ्जीवी वाग्ले, प्रकाशमान सिंह, प्रदीप गिरी, विमलेन्द्र निधि थिए । ३६ सदस्यीय कांग्रेसका अन्य सबै पदाधिकारी र केन्द्रीय सदस्य मूलधारमा थिए । शैलजा आचार्य, रामचन्द्र पौडेललगायतका नेता तत्काल मध्यमार्गी रहे पनि पछि कोइराला कांग्रेसमा सहभागी भएका थिए । कांग्रेस विभाजन भएपछि त्यति बेलाका एकमात्र जीवित संस्थापक नेता कृष्णप्रसाद भट्टराईले आफ्नो हृदय छियाछिया भएको वक्तव्य जारी गरेका थिए । त्यति बेला कांग्रेसको विधानमा पार्टी नेताविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयोजनका लागि कम्तीमा २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले प्रस्ताव गरेर कार्यसमितिले बोलाएपछि मात्र महाधिवेशन हुने व्यवस्था थियो । देउवाले त्यतिबेला विधानको त्यस्तो प्रक्रिया छलेर बेलाएको भेला महाधिवेशनमा परिणत भएको थियो । नेपाली कांग्रेसको ६५ वर्षे इतिहासमा यो पार्टी कति पटक फुट्यो भन्ने हिसाब त सायद, कहीँ पनि नहोला । जति पटक फुटे पनि र जसले फुटाए पनि नेपाली कांग्रेसबाट चोइटिएर गएकाह अन्ततः मातृ संस्थामै फर्के वा बिलाएर गएको इतिहास देखिन्छ । मातृकाप्रसाद कोइरालाले् २००८ सालमा थालेको कांग्रेस टुक्य्राउने उपक्रमको पछिल्ला उत्तराधिकारी शेरबहादुर देउवा हुन पुगेका थिए । तर, उनकै पार्टीले पनि एक्लै चुनाव लड्ने आँट गरेन । राणाकाल र पञ्चायतकालमा व्यवस्था परिवर्तनका लागि संघर्ष गरिरहँदा पनि नेपाली कांग्रेसभित्र गुटको टकराव थियो । तर, बाहिर छताछुल्ल थिएन । चुनावी राजनीतिमा आएपछि २००७–२०१७ र २०४७ यता भने गुटबीच खुलेआम द्वन्द्व भएका थिए । नेपाली कांग्रेस स्थापनापछि अहिलेसम्म दुई पटक पार्टीमा ठूला विभाजन भएका छन् ।  विभाजन हुँदा ताका दुवै पटक कांग्रेस नेतृत्वको सरकार थियो । पहिलो पटक २००९ सालमा पार्टी विभाजन हुँदा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए । बीपी कोइराला पार्टी सभापति थिए । दोस्रो पटक २०५९ सालमा विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । सभापति गिरिजाप्रसाद कोइराला थिए । अहिलेपनि उनै शेरबहादुरको समयमा पार्टी विभाजनको वाटोमा अघि बढेको छ । नेपाली कांग्रेस स्थापनाअघि नेपाली राष्ट्रिय कांग्रेस हुँदा नै बीपी कोइरालाले पार्टी फुटाउने अभ्यास गरिसकेका थिए । डिल्लीरमण रेग्मीसँगको अन्तरद्वन्द्वका कारण वीपीले पहिलो पटक पार्टी फुटाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x