आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

मलंगवामा दादुराको प्रकोप फैलिदै, बिरामीको आइसोलेसनमा राखेर उपचार गरिँदै

काठमाडौं ।     सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा दादुरा रोगको महामारी फैलिएको छ । २३ जना भन्दा बढी बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले बताए । संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिएको छ ।

मलंगवा–३ मा डेरा गरी बस्ने चन्द्रनगर गाउँपालिका पोखरियाका १ बालकमा पुस २२ गते दादुरा पुष्टि भएको थियो । बालक डेरा गरेर बसेको बस्तीका थप ६ जना थप बालबालिकामा ३ दिनअघि दादुराको संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासन, जिल्ला स्वास्थ्य कार्यालय तथा मलंगवा नगरपालिकाले आइसोलेसनमै राखेर उपचार सुरु गरेको हो ।

दादुरा पुष्टि भएका बालबालिका अहिले घरमै ‘आइसोलेटेट’ भएर बसेका छन् । मलंगवाको एक क्लिनिकमा उपचारका लागि पुगेका बालबालिकामा शंकास्पद लक्षण देखा परेपछि शुक्रराज ट्रपिकल तथा तथा सरुवारोग अस्पताल टेकुमा रगतको नमूना लगेर परीक्षण गर्दा दादुरा पुष्टि भएको हो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मंन्त्री जंगीलाल रायले दादुराको महामारी रोक्न आवश्यक कदम चालिएको बताए । जनचेतना अभावले मलंगवामा दादुराको महामारी फैलिएको मन्त्री रायको भनाई छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने दादुराको महामारी फैलिएपछि खोप लगाउने कार्यलाई द्रुतगतिमा सञ्चालन गरिएको बताए । संक्रमित बालबालिकालाई सुरक्षित स्थानमा आइसोलेसनमा राखिएको कडरियाले बताए ।

सोमबारदेखि मलंगवा नगरपालिका–३ तथा छेउछाउमा पर्ने वडा नं. २, ४, ८, ९ र १० मा ६ महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई ‘इम्युनिटी’ प्रदान गर्नेसहित दादुराविरुद्धको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x