देश तरकारी छानेको जस्तो होइन, भरपर्दो पार्टी र व्यक्तिलाई चुन्न नसके प्रयोगशाला बन्छः प्रवक्ता चालिसे
काठमाडौं।नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले भरपर्दो मानिस र पार्टीलाई देश सुम्पिन नसके प्रयोगशाला बन्ने निश्चित रहेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन। उनले पार्टी कहिल्यै पुरानो नहुने बताए । अहिले नेपाली काँग्रेस नयाँ अनुहार, नयाँ सिद्धान्त र नीति बोकेर अघि बढिरहेको जिकिर गरे । उनले काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ वटामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको पनि बताए। उनले अहिले भरपर्दो भविष्य हेर्ने बेला भएकाले कोही पनि उत्तेजनामा नआउन आग्रह गरे । देश तरकारी चाखेको जस्तो नभएको भन्दै भरपर्दो पार्टीलाई सुम्पिनुपर्ने बताए। कुनै कुरा मन परेन भन्दैमा आफ्नो भविष्य खाल्डोमा हाल्न नहुने बताए ।
उनले भने ‘पार्टी पुरानो हुँदैन, मान्छे पुरानो हुनसक्छ । मान्छे बुढो हुनसक्छ । नयाँ मान्छे लिएर आएका छौँ । १६५ क्षेत्रमा १०६ जना नयाँ उम्मेदवार दिएका छौँ । प्रधानमन्त्रीको उम्मेदवार नयाँ प्रश्ताव गरेका छौँ । यसबेला भरपर्दो भविष्य हेर्ने हो । कसको हातमा देश जिम्मा दिने रु यो प्रश्न हो । देश प्रयोगशाला हुँदैन । तरकारी टेस्ट गरेको जस्तो लौका र घिरौँला रोजेको जस्तो हुँदैन । लगातार लौका खाएँ यस पटक घिरौँला खान्छु भनेको जस्तो हुँदैन । देश भरपर्दो मानिस र भरपर्दो पार्टीको हातमा देश सुम्पिन सकेनौँ भने देशमा अराजकता हुन्छ, प्रयोगशालातर्फ जान्छ । सोमालिया जस्तो हुन्छ । शंका, उत्तेजनाको भरमा कुनै चिज मन परेन भन्दैमा आफ्नो भविष्य खाडलमा हाल्न सक्दैनौँ ।’
प्रवक्ता चालिसेले अहिले हरेक नागरिकले देशप्रति माया गर्ने बेला भएको बताए । विवेक र संयमले निर्णय गर्ने बेला आज रहेको बताए । जनतालाई मालिक बनाउने प्रणाली स्थापित गरेर काँग्रेस अघि बढ्ने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE