पर्सामा आचारसंहिता अनुगमन अधिकृत तोकिए, मतदानस्थलको निरीक्षण तीव्र
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले तयारी तीव्र पारेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासनले दुई जना आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार सहायक प्रजिअ विनोदकुमार पोखरेल र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मनोजकुमार जोशीलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ। निर्वाचन आयोगको निर्णय र निर्वाचन आचारसंहिता २०८२ को व्यवस्था बमोजिम उनीहरूलाई यो जिम्मेवारी सुम्पिएको हो। प्रशासनले कोही कसैले आचारसंहिता विपरीतका गतिविधि गरेमा तत्काल उजुरी दिन समेत सर्वसाधारणलाई आह्वान गरेको छ।
यसैबिच, निर्वाचनको सुरक्षा र व्यवस्थापन चुस्त बनाउन पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूले मतदानस्थलको स्थलगत निरीक्षण सुरु गरेका छन्। टोलीले आइतबार धोविनी गाउँपालिकाका पाँच वटा वडामा रहेका सात वटा मतदानस्थलको अवस्थाबारे जानकारी लिएको छ।
टोलीमा चारवटै सुरक्षा निकाय र निर्वाचन कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE