देशलाई थितिमा राख्न अजयबाबुलाई मत दिन कुन्दन काफ्लेको आग्रह
काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेले देशलाई थितिमा राख्न र सुशासन कायम गर्न कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीलाई मतदान गर्न आग्रह गरेका छन् ।
भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना कांग्रेसको मुख्य मुद्दा भएको उल्लेख गर्दै उनले यो म्यान्डेट पूरा गर्न रूख चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिए ।
उनले अन्य राजनीतिक दलहरूलाई लक्षित गर्दै जनताको ठेक्का कसैले लिनु नपर्ने र आगामी फागुन २१ गते जनता कसको पक्षमा छन् भन्ने कुरा स्पष्ट भइहाल्ने जिकिर गरे ।
उनले भने, “भ्रष्टाचार अन्त्य गर्ने सुशासन कायम गर्ने कांग्रेसको मुद्दा हो । देशलाई थितिमा राख्ने कांग्रेसको मुद्दा हो । त्यो म्यान्डेट हामी पूरा गर्छौं त्यसैले रुख चिन्हमा मतदान गर्नुपर्छ । म सम्पूर्ण राजनीतिक दललाई भन्न चाहन्छु यो ठेक्का पट्टा जनताको लिने काम कसैले नगर्दा हुन्छ । जनता कसको पक्षमा छन् हामी २१ गते देखाइदिन्छौँ । त्यही भएर कांग्रेसका कार्यकर्ता उच्च मनोबलका साथ गौरीशङ्कर हिमाल जस्तै शिर ठाडो बनाएर हिँडौँ । यो परिवर्तनको नेतृत्व पनि कांग्रेसले गर्नेछ । हामी कुनै जनताको शिर निहुराउन दिनेछैन त्यही अनुरूप सबै लाग्नुहोला ।”
उनले हरेक कार्यकर्तालाई आफ्नो जित सुनिश्चित भइसकेको महसुस गर्दै छाती चौडा पारेर अगाडि बढ्न आह्वान गरे । पार्टीभित्र पक्ष–विपक्ष हुनु स्वभाविक भए पनि कांग्रेसको नीति, सिद्धान्त, निष्ठा र दृष्टिकोण सधैँ अब्बल रहेको कुरा बारम्बार पुष्टि भइसकेको उनको तर्क छ ।
उनले गैर–कांग्रेस मतदाताहरूलाई समेत यस पटक विकास र समृद्धिका लागि रूख चिन्हमा मतदान गर्न विशेष आग्रह गरे । दोलखाको विकास र भविष्यका लागि अजयबाबु शिवाकोटी जस्तो योग्य उम्मेदवारको आवश्यकता रहेको भन्दै उनले सबैलाई गोलबद्ध हुन आह्वान गरे ।
उनले भने .”गैर कांग्रेसलाई म भन्न चाहन्छु पार्टी भित्र पक्ष विपक्ष हुन पाइन्छ । तर हाम्रो पार्टीले हाम्रो नीति सिद्धान्त निष्ठा दृष्टिकोणमा अब्बल छ । यो बारम्बार पुष्टि भइसकेको छ । छाती चौडा राखेर हरेक कांग्रेसका कार्यकर्ता जित सुनिश्चित भइसक्यो भन्ने दिशामा अगाडि बढ्न काम गर्न अनुरोध गर्न चाहन्छु । साह्रोगाह्रोमा नेपाली कांग्रेस हिजो जस्तै चट्टान झैँ अडान लिएर गरिब जनताको पक्षमा उभिनेछ । युवाले कांग्रेसको नेतृत्व गर्दैछ भनेर तपाईँहरू गाउँ गाउँमा गएर सुनाउनुस् । गैर कांग्रेसले पनि यसपालि विकास चाहनुहुन्छ भने रूख चिन्हमा मतदान गर्न आग्रह गर्दछु ।”
चुनाव जितिसकेको मानसिकताका साथ उच्च ऊर्जाका साथ काम गर्न उनले कार्यकर्तालाई अनुरोध गरे । कांग्रेस सधैँ जनताको सुख–दुःखको साथी भएको र आगामी दिनमा पनि त्यही भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE