सांसदहरु भन्छन्, ‘विस्थापित सुकुम्बासीलाई अमानवीय तरिकाले होल्डिङ सेन्टरमा राखियो’
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले काठमाडौंको सुकम्बासी बस्तीबाट हटाइएका नागरिकहरुलाई अमानवीय ढंगले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीवार बसेको संयुक्त बैठकमा सांसदहरूले विस्थापित नागरिकलाई सरकारले न्युनतम व्यवस्था समेत नगरिकन राखेको आरोप लगाएका हुन् । दुवै समितिले नागार्जुनको ईचङ्गुमा रहेको होल्डिङ सेन्टरको अनुगमन गरेको थियो । अनुगमनको क्रममा विस्थापित परिवारको अवस्था दयनिय देखिएको सांसदहरुको भनाई छ । बैठकमा सांसदहरुले सरकारको सुकुम्बासी बस्ती हटाउने अभियानमाथि तिब्र असन्तुष्टि जनाए । वैकल्पिक पुनस्र्थापनाविना डोजर चलाइएको उनीहरुको आरोप छ । सर्वोच्च अदालतको आदेश विपरित अझै पनि सुकम्बासी बस्तीमा डोजर चलाउने अभियान चलिरहेको भन्दै उनीहरुले रोक्न सरकारसंग माग गरे ।
वैठकमा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले भूमिहीन सुकुम्बासीले संविधान र मानवअधिकारअनुसार बाँच्न पाउने अधिकार नपाएको बताए। स्थायी समाधानबिना बस्ती हटाउनु अनुचित भएको उनको भनाई छ । सर्वोच्च अदालतले रोक लगाइसकेपछि पनि कतिपय स्थानमा घरटहरा भत्काउने क्रम जारी रहेको उनको भनाइ छ । होल्डिङ सेन्टरको अवस्था दर्दनाक रहेको उल्लेख गर्दै उहाँले सरकारले उपलब्ध गराउने राहत पनि अपर्याप्त भएको उनले टिप्पणी गरे।
उनले भने, ‘भूमीहीन सुकुम्बासीहरुले मानव भएर मानव अधिकार, संविधानको अधिकार प्राप्त गरे कि गरेनन् रु भन्ने कुरा महत्वपूर्ण छ । यसमा विधिको शासन भयो कि भएन रु स्थायी समाधानको उपाय नगरिकन भुमीहिन सुकुम्बासीहरुलाई उठाउन उपयुक्त थियो कि थिएन रु त्यसको बारेमा गम्भिर छलफल हुनुपर्छ । वैकल्पिक व्यवस्था गरेर मात्रै भत्काउनुपर्छ । सर्वोच्च अदालतले यसलाई रोका गरिसकेको छ, तर पनि कतिपय ठाउँमा अझैपनि घर टहरा भत्काउने काम भईरहेको छ । नागरिकको बाँच्न पाउने अधिकार छ । होल्डिङ सेन्टरमा अत्यन्त दर्दनाक तस्वीर देखिन्छ । सरकारले दिने भनेको राहत पर्याप्त छ कि छैन । सरकारले दिने सानो रकमले उनीहरुको समस्या समाधान हुन्छन
नेपाली काँग्रेसकै सांसद ललितजंग शाहीले व्यवस्थित बसोवासको विकल्प नदिई नागरिकलाई विस्थापित गर्नु मानवअधिकारविपरीत भएको बताए । उनले होल्डिङ सेन्टरमा शुद्ध खानेपानीको समेत अभाव देखिएको बताए। ढल मिसिएको पानी पिउन बाध्य बनाएको भन्दै उनले अत्यन्त संवेदनशील रुपमा सुकुम्बासीलाई राखिएको उल्लेख गरे । उनले तत्काल स्वच्छ खानेपानी, लत्ताकपडा, खाद्यान्न र सरसफाइको व्यवस्था गर्न सरकारसँग माग गरे । नेपाल रेडक्रस सोसाइटीको सहयोग लिएर भएपनि राहत उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । साथै विस्थापित सुकुम्बासीलाई रोजगारीको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरे।
उनले भने ‘अव्यस्थित बसोवास हुनु राम्रो कुरा होइन, तर व्यवस्थित बसोबासको व्यवस्था नगरि निरिह नागरिकलाई उठाईएको छ । त्यो मानवअधिकार विपरित छ । अझ होल्डिङ सेन्टरमा सबैभन्दा संवेदनशील विषय के देखियो भने ढल मिसिएको पानी खाईरहेको देखियो । यो भन्दा संवेदनशील विषय अरु के हुनसक्छ । तत्काल उनीहरुलाई ढल मिसिएको पानी खानलाई रोकेर स्वच्छ, शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्छ । लत्ताकपडा, खानपान, सरसफाई लगायतका अभावको कारण उनीहरुको स्वास्थ्यमा समस्या देखिएको छ । नेपाल रेडक्रस सोसाईटीसंग सहयोग सहयोग लिएर भएपनि सरकारले उनीहरुलाई राहत दिईयोस् ।’
सांसद सुनिलबहादुर थापाले सरकारले कुनै दीर्घकालीन योजना नबनाई इगोका आधारमा सुकुम्बासी बस्तीमा डोजर चलाएको आरोप लगाए। उनले सरकारले मानवअधिकारको उल्लङ्घन गरी आफू पपुलर हुनको लागि डोजर चलाएको बताए । देशभर डोजर आतंक चलेको उल्लेख गर्दै उहाँले विस्थापित परिवारलाई १५ हजार र ३० हजार रुपैयाँ दिने सरकारी निर्णयमाथि समेत प्रश्न उठाए । ‘सरकार आफैंसँग पैसा छैन भन्छ, फेरि पैसा बाँड्छ’ भन्दै उहाँले क्षणिक सान्त्वनाका लागि मात्रै राहत दिएको टिप्पणी गरे । होल्डिङ सेन्टरमा रहेका नागरिकलाई मानसिक परामर्श आवश्यक रहेको उहाँको भनाई छ । त्यतातिर ध्यान दिन उहाँले सरकारलाई आग्रह गर्े।
उनले भने, ‘हाल काठमाडौमा मात्रै होईन, देशभर नै डोजर आतंक चलेको छ । हालै सरकारले विस्थापित परिवारलाई १५ हजार र ३० हजार दिने निर्णय गरेको छ । यो के का लागी दिएको हो रु सरकार आफैँ भनिरहेको छ, हामीसँग पैसा छैन । पैसा छैन भन्ने फेरि पैसा बाँढ्ने काम गरिरहेको छ । यो सुकुम्बासीलाई केही समय खुशी पार्नको लागी मात्रै दिएको हो की रु आजसम्म कति मन्त्रीहरु जानुभयो, होल्डिङ सेन्टरमा रु’
नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद श्रीकृष्णप्रसाद अधिकारीले भूमिहीन तथा सुकुम्बासी समस्याको स्थायी समाधानका लागि सम्बन्धित मन्त्रीलाई समितिमा बोलाएर निर्देशन दिनुपर्ने माग गरे। देशभर करिव १४ लाख परिवार भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासमा रहेको उल्लेख गर्दै उनले १५ हजार रुपैयाँले समस्या समाधान नहुने बताए । उनले सुकुम्बासी तथा भूमीहीनको लागि व्यवस्थित आवास नै मुख्य विषय रहेको उल्लेख गरे । उनले पनि सर्वोच्च अदालतले डोजर नचलाउन आदेश दिएपनि बस्ती हटाउने काम जारी रहेको बताए।
उहाँले भन्नुभयो, ‘देशको करिब १४ लाख परिवार भूमीहिन, सुकुम्बासी र अव्यवस्थित रहेका छन् । उनीहरुको भूमी तथा आवासको व्यवस्था गर्नु सरकारको दायित्व हो । सरकारले हाललाई होल्डिङ सेन्टरमा रहेकालाई मासिक १५ हजार दिएर हटाउने खोजिरहेको छ । १५ हजार मुख्य कुरा होईन, मुख्य कुरा व्यवस्थित ढंगले उनीहरुलाई बसोबास गराउने हो ।’
नेकपाकै सांसद उदय बहादुर बोहोराले सुकुम्बासीको पहिचान र पुनस्र्थापनाको व्यवस्था नगरी डोजर चलाउनु गलत भएको टिप्पणी गरे । पुनस्र्थापनाका लागि घोषणा गरिएको २५ हजार रुपैयाँ पर्याप्त नभएको उनको भनाई छ ।
उनले भने, ‘सरकारले सुकुम्बासी बस्तीमा जसरी डोजर लगायो, यो तरिका असाध्यै बेठिक भयो । यो गर्नै हुँदैन भन्ने होइन तर यसले जुन प्रक्रिया अपनाउन पर्ने थियो, त्यो पु¥याउन सकेन । पहिला सुकुम्बासीको पहिचान गरेर उनीहरुको बस्ने आवासको व्यवस्था गरेर बल्ल को सुकुम्बासी, को हुकुम्बासी हो भन्ने छुट्याएर बस्तीमा डोजर चलाउनुपर्ने थियो । यहाँ मानवअधिकार हनन भएको छ । सरकारले १५ हजार दिने भनेको छ, त्यो पनि दिएको छ कि छैन रु पुनस्थापनाको लागी २५ हजार दिने भनेको छ, त्यति रकमले के के व्यवस्था हुन्छ रु त्यो पनि पुगेको छ कि छैन, उही प्रचारको लागी मात्रै हो की
नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार मानवीय संवेदनाहीन भएको आरोप लगाए । उहाँले राज्यले आफैँले विपत्ति सिर्जना गरेर राहत बाँड्नु अनुचित भएको बताउनु भयो । जनताको बाँच्न पाउने अधिकारमाथि राज्य आतंक मच्चाएर राहतको नाममा सरकारले ढोङ गरिरहेको उनको भनाई छ ।
उनले भने, ‘यो सरकारसँग मानवीय संवेदना छैन । तत्कालिन सरकारका प्रमुख केपी ओली र प्रचण्ड हुँदाखेरी उहाँ काठमाडौंको मेयर हुनुहन्थ्यो । उहाँले चलाउन खोजेको डोजर त्यतिवेला सहयोग भएन, यसलाई व्यवस्थित गरेर मात्रै डोजर चलाउनपर्छ भन्ने थियो । त्यो झोकमा अहिलेको यो सरकारले सुकुम्बासीमा काँग्रेस, एमाले, माओवादी मात्रै देखेको छ । प्राकृतिक विपद् परेको बेलामा राज्यले सहुलियत दिने हो । राज्यले राहत दिन्छ, तर यो सुकुम्बासीको बस्तीमा डोजर लगाएर सरकारले आफै विपद् सिर्जना गरेको हो । सरकार आफैले राज्यलाई घाटा हुने काम गरेको छ । किन दिनुपर्ने थियो अहिले १५ हजार र ३० हजार रु के विपत्ती आईलागेको हो, यो रु विपत्ति आफैँले उत्पत्ति गरेर, राज्य आतंक मच्चाएर जनताको बाँच्न पाउने अधिकार हनन गर्ने रु शासक संवेदनहीन भयो भने उसले गर्ने क्रुरता नै हो ।’
नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले बालेन्द्र साह काठमाडौंको मेयर हुँदा भूमीहिन समस्या समाधान गर्नको लागि गम्भिर नभएको आरोप लगाए । भूमीहिन नागरिक पहिचानको लागि कुनै काम नै नगरेको उनको दाबी छ । काठमाडौं जिल्लामा २ हजार ८ सय भूमिहीन तथा अव्यवस्थित परिवारको रेकर्ड भएपनि महानगरपालिकाबाट एक जनाको पनि नाम भूमि आयोगमा सिफारिस नभएको उनको दाबी छ ।
उनले् भने , ‘काठमाडौं जिल्लामा २ हजार ८ सय परिवार भूमीहिन र अव्यवस्थित भएको रेकर्ड रहेछ । अचम्मको कुरा काठमाडौ महानगरपालिकामा त्यो संख्या शुन्य छ । काठमाडौ महानगरमा चाहीँ एक जना पनि भूमीहिन छैनन् । एक जना पनि अव्यवस्थित बसोबासी छैनन् । भुमी आयोगको जिल्ला समितिमा एक जनाको पनि नाम सिफारिस गरिएको छ्रैन । हालको प्रधानमन्त्री बालेन्द्र साह काठमाडौंको मेयर हुनुहुन्थ्यो । उहाँले महानगरमा भूमीहीन नागरिक छन् कि छैनन् भन्ने तथ्याङ्क संकलन नै गर्नुभएन । यो भूमीहिन, सुकुम्बासी समस्या समाधान गर्न उहाँ नलागेको नै देखिन्छ ।’
एमालेकी सांसद रोशनी मेचेले सरकारले प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाइन् । गरिब, विपन्न तथा सुकुम्बासीको अभिभावक सरकार बन्न नसकेको बताउदै उनले वर्तमान सरकार सुकिला मुकिलाहरुको सरकार भएकोले गरिब विपन्नहरुको समस्या बुझ्न नसकेको बताइन् । सरकारसँग पाँच वर्षको समय हुँदाहुँदै योजनाबद्ध व्यवस्थापन नगरी केही दिनमै बस्ती हटाउने निर्णय किन गरियो रु भन्ने प्रश्न पनि उनले उठाइन् ।
उनले भनिन्, ‘सरकार गठन भएको केही दिनमा नै सुकुम्बासी बस्ती उठाउनुपर्ने के त्यस्तो बाध्यात थियो रु १०० दिनमा धेरै कामहरु गर्न सकिन्थो होला नी । सरकारसंग पाँच वर्षको समय थियो, सरकारले कार्ययोजना बनाएर सुकुम्बासीलाई व्यवस्थित गर्न सक्थ्यो ।’
बैठकमा सासंदहरुले होल्डिङ सेन्टरमा गुणस्तरीय खाना नदिएको, लत्ताकपडा तथा आवासको व्यवस्थापन राम्रो नदेखिएको, बालबालिका विद्यालय जान नपाएको, स्वच्छ खानेपानी तथा शौचालयको अभाव देखिएको बताएका थिए । सांसदहरुले सरकारलाई होल्डिङ सेन्टरलाई न्युनतम मानव बसोबास मापदण्डअनुसार व्यवस्थापन गर्न सुझाव दिएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE