शनिबार, असार ६, २०८३
Saturday, June 20, 2026

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन् ।

सोमवार माईतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनमा सम्बोधन गर्दै उनले नेपालमा जुनसुकै शासन व्यवस्था आएपनि मधेशका मागप्रति अनुदार हुने गरेको बताएका हुन्। उनले मधेसबाट मत लिएर सरकार बनाउने तर मधेसका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप लगाए । राणा शासनकालमा मधेशमाथि उपनिवेशवादी शासन लादिएको दाबी गर्दै उहाँले पछिल्ला ७५ वर्षमा काँग्रेस र कम्युनिष्ट दलहरूले पनि मधेशलाई विभिन्न रूपमा ठग्दै आएको आरोप लगाए । २००७/००८ सालपछि काँग्रेस र कम्युनिष्टहरुले सत्ताको नेतृत्व गरेपनि आजसम्म मधेसीलाई पूर्ण अधिकार नदिएको उनको भनाई छ । उनकाअनुसार नागरिकता, सुकुम्बासी व्यवस्थापन र स्वायत्तता लगायतको मधेसको माग पूरा हुन सकेको छैन । उनले सशस्त्र द्वन्द्वका क्रममा पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै माओवादी नेतृत्वको आन्दोलनबाट समेत मधेशीहरू ठगिएको बताए। मधेशको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने उनको दाबी छ ।

उनले भने, ‘मधेसलाई राणाहरुले पनि ठगे, उपनिवेश शासन नै लादे, काँग्रेस कम्युनिष्टहरुले पनि विगत ७५ वर्षदेखि ठग्दै आएको हामीकहाँ प्रमाण नै छ । २००७/००८ सालमा काँग्रेसहरुको सत्ता आयो तर अहिलेसम्म कुनै अधिकार नदिने, नागरिकत्ता नदिने, सुकुम्बासीहरुलाई व्यवस्थापन नगर्ने, स्वायत्तता नदिनेगरि विभिन्न रुपले ठगी गर्दै आएको छ । मत चाहीँ मधेसबाट लिने, सरकार चाहीँ मधेसबाट नै बनाउने तर जहिले पनि अधिकार चाहीँ नदिने षड्यन्त्र हुँदै आएको छ । त्यतिमात्रै होइन माओवादी आन्दोलन हुँदा पनि मधेसीहरु ठगिएइको हामीकहाँ प्रमाण छ ।’

उनले मधेसका माग सम्बोधन गर्न वर्तमान सरकारलाई आग्रह गरे। मधेसको माग सम्बोधनको लागी जिल्ला प्रशासन कार्यलयमार्फत सोमबार नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने उनले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x