टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
काठमाडौं। काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
महानगरले मंसिर अगाडी नै फोहोर स्थानान्तरण केन्द्र निर्माण सम्पन्न गरी मंसिरबाट सञ्चालनमा ल्याउने तयारी गरेको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् । निर्माणाधीन केन्द्रको बुधवार अवलोकनपछि कार्यवाहक प्रमुख डंगोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाईने बताइन् । उनकाअनुसार हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने काम भईरहेको छ । यसले प्रदुषण र स्वास्थ्य जोखिम बढेकोले महानगरले टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गर्न लागेको उनले जानकारी दिइन् । यस केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोर वर्गीकरण गर्ने उनको भनाइ छ । उनकाअनुसार केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी रहनेछ, जहाँ जैविक र अजैविक फोहोर छुट्याइनेछ । अजैविक फोहोर पुनः प्रयोगको लागि पठाइने र जैविक फोहोर बञ्चरेडाँडातर्फ व्यवस्थापन गरिने उनको भनाइ छ । उनले जैविक फोहोरहरुलाई कम्पोष्ट मल बनाउन उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताइन् ।
उनले भनिन्, ‘हामी यो टेकुको बन्दै गरेको फोहोर स्थानान्तरण (ट्रान्सफर स्टेसन) केन्द्रमा छौँ । यो स्थानान्तरण केन्द्रको मुख्य उद्देश्य भनेको नै जैविक र अजैविक फोहोरलाई छुट्याउने हो । साथै, अजैविक फोहोरलाई यहाँबाट पुनःप्रयोगका लागि पठाइनेछ भने जैविक फोहोरलाई हामीले बञ्चरेडाँडामा लग्ने फोहोरसँगै पठाइनेछ । अहिले धेरैजसो ठाउँमा खुला तरिकाले फोहोर छुट्याउने काम भइरहेको छ । तर यसरी खुला रूपमा फोहोर छुट्याउँदा प्रदूषण, जोखिम तथा अन्य धेरै पक्षबाट सुरक्षित हुँदैन । त्यसैले यसलाई व्यवस्थित गर्नका लागि यो स्थानान्तरण केन्द्र निर्माण भइरहेको हो । यस केन्द्रमा सामग्री मेटेरियल रिकभरी सुविधा पनि रहनेछ । अहिले स्थानान्तरण केन्द्रमा फोहोर छुट्याउने काम मानिसहरूले हातैले गरिरहेका छन् । अब भने यहीँबाट यान्त्रिक विधिबाट पनि फोहोर छुट्याउने योजना रहेको छ । निर्माण सम्पन्न भएपछि यान्त्रिक फोहोर छुट्याउने प्रणाली सञ्चालनमा ल्याइनेछ । यसको अर्को मुख्य उद्देश्य भनेको बञ्चरेडाँडामा जाने फोहोरको मात्रा घटाउनु पनि हो । साथै, फोहोरमा रहेका अजैविक पदार्थलाई पुनःप्रयोगका लागि पठाउने र जैविक फोहोरलाई अन्य उपयोगमा ल्याउन सकिने बनाउने उद्देश्य पनि रहेको छ । त्यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा फोहोरलाई सही ठाउँमा छुट्याउने व्यवस्था गर्नु हो, जुन अहिले निर्माण भइरहेको छ । यो आयोजना मङ्सिरसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । तर मङ्सिरभन्दा अगाडि नै सकेसम्म छिटो निर्माण सम्पन्न गरी यहाँबाट काम सञ्चालन गर्ने उद्देश्य पनि रहेको छ ।’
कावा प्रमुख डंगोलका अनुसार केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा पुग्ने फोहोरको मात्रा पनि घट्नेछ । बुधवार कार्यवाहक प्रमुख ढंगोलले उक्त स्थानान्तरण केन्द्रको स्थलगत अनुगमन गरेकी हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE