बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक कलह थप सतहमा, नयाँ पार्टी गठन गर्नुपर्नेमा संस्थापन इतर समुहका नेताहरुको जोड
काठमाडौं । जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक कलह थप सतहमा आएको छ ।संस्थापन र संस्थापनइतर पक्षले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेसँगै इतर पक्षका नेताहरूले संस्थापनमाथि बिभिन्न आरोप लगाउदै नयाँ पार्टी गठनसम्मको बहस अघि सारेका छन् ।
नेपाली कांग्रेसको संस्थापन इतर शेरबहादुर देउवा–पूर्णबहादुर खड्का पक्षले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बीपी स्मृति सभा आयोजना गरेर मनाएको छ ।कार्यक्रममा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालालगायत नेताहरू सहभागी थिए । कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा संस्थापन पक्षका नेताहरू भने कार्यक्रममा अनुपस्थित रहे । यसअघि बुधबार बिहान संस्थापन पक्षले आयोजना गरेको ‘ग्रीन रन’ कार्यक्रममा पनि इतर पक्षका नेताहरू सहभागी भएका थिएनन् । यससँगै कांग्रेसले यस वर्ष बीपी स्मृति दिवस दुई अलग कार्यक्रममार्फत मनाएको हो । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले सभापति थापाको नेतृत्वमा अघि बढ्न नसकिने धारणा राख्दै नयाँ राजनीतिक दल गठन गर्नुपर्ने आवाज उठाएका छन् ।नेता मोहनबहादुर बस्नेतले अब सहमतिको सम्भावना सकिएको दाबी गर्दै नयाँ पार्टी गठनका लागि नेतृत्व पछि हट्न नहुने जिकिर गरे। थापाको नेतृत्वमा भएको निर्वाचनमा कांग्रेस कमजोर बनेको दाबी गर्दै उनले आगामी महाधिवेशनको तयारीमा ढिलाइ नगरी बीपीले निर्माण गरेको कांग्रेसको मूल मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेता केदार कार्कीले सभापति थापामाथि गम्भीर आरोप लगाए । उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विगतमा गगन थापा ‘कतैबाट सञ्चालित’ रहेको भनेको कुरा अहिले पुष्टि भइरहेको जिकिर गरे । उनले आवश्यक परे नयाँ पार्टी गठनका लागि पनि तयार हुन नेतृत्वलाई आग्रह पनि गरे।
कार्यक्रममा नेता कुन्दन काफ्लेले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकै कारण नेपाली कांग्रेस र मुलुक दुवै कमजोर बनेको आरोप लगाए । संविधानको मर्मविपरीत सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको दाबी गर्दै त्यसपछि भएको राजनीतिक घटनाक्रमले कांग्रेससहित समग्र राजनीतिक प्रणालीलाई क्षति पुगेको उनको भनाइ छ ।
नेता डा. शशांक कोईरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिष्पर्धा समयमै समाधान गर्न नसके काँग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिए । पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी सभापति थापासहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ छ ।
कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रै एकता रोज्न आग्रह गरेका छन् । पार्टीले राष्ट्रिय एकता अघ आन्तरिक एकता बलियो बनाउनुपर्ने उनको भनाइ छ ।कांग्रेस एकताका साथ अघि नबढे मुलुकले पनि त्यसको क्षति व्यहोर्नुपर्ने उनको मत छ ।
यस्तै कार्यक्रममा बोल्ने अन्य कतिपय नेताहरुले सभापति गगन थापालाई पकट नगरी पार्टी एकताको वातावरण बनाउन आग्रह गरेका छन् । इतर पक्षले कुनै छलछाम नगरेको बताउदै उनिहरुले पार्टी फुटे त्यसको जिम्मेवार स्यमं सभापति लगाएतका नेताहरु हुने बताएका हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE