धनको अभावमा दसैँविहीन बनेका धनबहादुर

काठमाडौं । काठमाडौँको न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शीरमा बाक्लो टोपी अनि काँधमा झुण्डिएको नाम्लो । चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, बिहानदेखि दसैँको खर्च जोहो गरौँ भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ ।
अलिक परको टुँडिखेलमा दसैँको फूलपातीको उत्सव मनाइरहँदा खत्री भने न्यूरोडमा भारी बोक्ने काम खोज्दै थिए । दसैँ लागेका मानिसहरू गोजीभरी पैसा बोकेर न्यूरोडका पसल चहार्दा उनी भने गोजी तातो बनाउने खोजीमा थिए । हामीले उनलाई सोध्यौँ, ‘दसैँ लाग्या छैन दाजु ?
खोइ सर, लाग्न त लाग्यो तर मलाई त्यति स्वाद छैन, बिहान आइपुगेको दिन ढल्न लाग्दा पनि काम पाइएको छैन, गोजी रित्तो हुँदा दसैँ आयो कसरी भन्नु ?
उनी बिहीबार बिहानै घरबाट निस्किएका थिए, तर दिनभरी नयाँसडक, असन, भोटेबाहलका गल्ली र पसल चाहर्दा पनि काम पाइएको छैन । उनले आज रित्तो हात फर्कनुपर्छ कि भन्दै सुस्ताए । हिजो अस्ती त काम जति पनि पाइएको थियो, आज पाइएन, रमाइलो भएन, उनले सुनाए ।
धनबहादुरको मन दिनभरी राम्रो आम्दानी नभएपछि खिन्न छ । बिहान परिवारसँग मरमसला, कपडालगायतका सामग्री लिएर आउँछु है भन्दै बजार छिरेको थिएँ, तर आज रित्तो हात फर्कनुको विकल्प भएन, उनले भने ।
हरेक दिन भारी बोकेर मजदुरी गर्दै आएका खत्रीले यही कमाईले घरखर्च र परिवारको रेखदेख गर्नुपर्ने दायित्व छ । खत्रीको घरपरिवार पनि दिउँसोको कमाइले दसैँका सामान किन्ने योजनामा बसेको छ ।
विगत २७ वर्षदेखि भारी बोक्ने काम गर्दै आएको खत्रीले केही समय रिक्सा पनि चलाए। त्यो पेसाबाट भने जस्तै आम्दानी नभएपछि भारी बोक्न फेरि नाम्लो समाएका रहेछन् । उमेरले ६५ वर्ष कटिसकेका खत्रीले अहिले पनि ५० देखि ६० किलोसम्मको भारी बोक्दै हिँड्छन् ।
उनी मात्रै होइन, न्यूरोडमा ज्यामी काम गर्ने ओखलढुङ्गाका ढाकाराज सुनुवारलाई पनि दसैँ लागिसकेको छैन । बन्दै गरेको घरमा मार्बल घोट्दै गरेका उनले पनि खत्रीको जस्तै व्यथा सुनाए ।
फूलपातीको दिन न्यूरोड क्षेत्रमा नयाँ कपडा किन्ने ग्राहक र व्यापारीको होहल्ला चलिरहँदा सुनुवारलाई त्यसको कुनै आभाष छैन । खोइ, दसैँ आयो भन्छन् हुने खानेलाई आयो होला । हामीजस्तालाई त आएको छैन । यसरी काम गर्नुपरेको छ, कसरी दसैँ मान्नु, तै पनि परम्परा धान्न भए पनि दसैँ त मान्नै परो, उनले भने ।
नेपालीहरूको महान चाड बडा दसैँको फूलपातीका दिन गाउँ तथा सहरमा पर्वको उल्लास छाइरहँदा खत्री र सुनुवार जस्ता भरियालाई दसैँ आयोभन्दा पनि दसैँका लागि खर्च जोहोकै चिन्ता छ । उनीहरू नाम्लो काँधमा हालेर दुई छाकटार्ने हुटहुटीमा न्यूरोड, असन, इन्द्रचोक महाबौद्धलगायत गल्ली र पसलमा चहारिरहेका छन् ।
सीमित आम्दानीले परिवारको खर्च धान्नुपर्ने परिस्थितिकाकारण गाउँ जान नसकेका उनीहरूलाई सहरमा बसेर दसैँ मनाउन पनि सास्ती छ । भरियामध्ये कतिपयत गाउँ फर्किसके । परिस्थितिले परिबन्धनमा परेका केही भरियालाई भने दसैँले यसपाली घर बोलाए न।
त्यसैले ओखलढुङगाका २५ वर्षीय सुनुवारले जेनतेत यसपाली सहरमै दसैँ मनाउने निधो गरेका रहेछन् । कमाइ पनि राम्रो छैन, बाटोघाटो पनि त्यस्तै छ, स–साना बालबालिकालाई कच्चीबाटोमा कसरी लैजाने । बरु जे जसरी हुन्छ यो पटक आफ्नो जेथो अनुसारको दसैँ मनाउछौँ, उनले भने।
घर बनाउने काम गर्दै आएका अर्घाखाँचीका सुनील रानामगर पनि परिस्थितिले दसैँमा घर जान पाएनन् । दसैँमा घर जान भने जस्तो पैसा भएन । फेरि दसैँमा अनावश्यक खर्च पनि हुने भएकाले यसपाली घर जान मनले मानेन, उनले भने ।
रानामगर मात्रै होइन, दोलखाका माइला भुजेलले पनि यसपाली दसैँका लागि घर जाने बसको टिकट काटेनन् । उनले काम गरिरहेको घरमा भर्खरै ताला लागेको छ । श्रीमती र कान्छा छोरा भारतमा उपचारको क्रममा छन् ।
दसैँमा काठमाडौंमा मजदुरी गरिरहेका उनले भने, परिवार पनि लाखापाखा छन्, आर्थिक अवस्था पनि त्यस्तै छ, कसरी गाउँ जाने, जे जसो भए पनि सहरमै दिउँसो मजदुरी गरेर साँझ पेट पाल्नुपरेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE