निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन आयोगको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि योग्य व्यक्तिहरुले आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नसक्ने भएका हुन् ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावलीमा नाम संकलन गर्न नपाइने कानूनी व्यवस्था भएपनि सरकारले अध्यादेश जारी गरेर मतदाता नामावलीमा नाम संकलन गर्ने बाटो खोलेको बताए । प्रतिनिधि सभाको विघटन हुनुअघि नै रुपन्देही क्षेत्र नम्बर ३ मा निर्वाचनको मिति तोकिएसँगै मतदाता नामावली संकलनको कार्य रोकिएको थियो ।
यस्तै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति घोषणा गरे पछि पनि मतदाता नामावलीमा नाम संकलन गर्ने काम बन्द भएको थियो । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्न योग्य भएका तर मतदाता नामावलीमा नाम नभएर मतदान गर्नबाट वञ्चित नागरिकलाई यसले मतदानको अवसर दिएको बताए ।
स्थगनमा रहेको मतदाता नामावलीको नाम संकलन गर्ने प्रक्रिया बिहीवारकै मितिबाट शुरु भएको जानकारी दिए । मतदाता नामावलीमा नाम समावेश छैन भने आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम संकलन गर्न, त्रुटी भए सच्याउन र कोही बसाईंसराई भएको वा मृत्यु भएको छ भने लगत कट्टा गर्न आह्वान गरे । कुन ठाउँबाट मतदान प्रक्रियामा भाग लिन होे त्यही ठाउँमा मतदाताको नामावली कायम गर्न आयोगले आग्रहसमेत गरेको छ । अहिले संकलन गरेको मतदाता नमावलीमा संकलित हुने मतदाताहरु फागुन २० गते १८ वर्ष पूरा हुनुहुन्छ भने फागुन २१ गते बिहान ७ बजेबाट प्रारम्भ हुने मतदान प्रक्रियामा उहाँहरु सहभागी हुन पाउने जानकारी दिए ।
उनले भने, ‘रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधित्व गर्नुहुने दीपक बोहरा स्वर्गीय भएपछि २०८२ असार १६ गते ०८२ कार्तिक १७ गते रुपन्देही ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन्छ भनेर घोषणा ग¥यौँ । अहिले हाम्रो प्रचलनमा रहेको कानून जब निर्वाचनको मिति घोषणा हुन्छ, निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम संकलन गर्न पाइँदैन । त्यसलाई निषेध गर्दछ । त्यो चलिरहेको थियो, पछि आएर अहिले पूरै प्रतिनिधि सभा नै भंग गरेर २०८२ साल फागुन २१ गते निर्वाचन गर्ने भनेर सम्माननीय राष्ट्रपतिज्युबाट मिति घोषणा भयो ।
असार १६ गतेबाट बन्द रहेको मतदाता नामावलीको नाम संकलन गर्ने प्रक्रिया बन्द थियो । अहिले प्रचलनमा रहेको कानूनले सम्बोधन गर्न नसक्ने भएपछि हामीले सरकारसँग समन्वय गरेर अध्यादेशमार्फत हो भने हामी पुनः मतदाता नामावली नाम संकलन गर्न सक्दछौँ । नत्र अहिलेको कानूनले निषेध गर्दछ भनिसकेपछि सरकार र हाम्रो बीचमा समन्वय भएर सम्माननीय राष्ट्रपतिज्युलाई अनुरोध गरिसकेपछि अध्यादेश जारी भएको छ ।
आजै हाम्रो आयोगको बैठक बसेर स्थगनमा रहेको मतदाता नामावलीको नाम संकलन गर्ने प्रक्रिया आजकै मितिबाट शुरु हुन्छ । मतदाता नामावलीमा नाम समावेश छैन भने आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम संकलन गर्नुस्, त्रुटी भए सच्याउनुस्, कोही बसाईंसराई भएको वा मृत्यु भएको छ भने त्यो पनि लगत कट्टा गर्नुस् र कुन ठाउँबाट मतदान प्रक्रियामा भाग लिने त्यो प्रयोजनलाई त्यही ठाउँमा मतदाताको नामावली कायम गर्नुस् भनेर अनुरोध गरिसकेका छौँ । अहिले संकलन गरेको मतदाता नमावलीमा संकलित हुने मतदाताहरु फागुन २० गते १८ वर्ष पूरा हुनुहुन्छ भने फागुन २१ गते बिहान ७ बजेबाट प्रारम्भ हुने मतदान प्रक्रियामा उहाँहरु सहभागी हुन पाउनुहुन्छ ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE