एमालेको महाधिवेशन स्थल परिवर्तनः मंसिर ६ मा काठमाडौंमा जनसभा
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । शनिवार गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि बसेको केन्द्रिय कमिटीको बैठकले ११ औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । तर आजको बैठकले स्थान परिवर्तन गरेर काठमाडौंमा गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ ।
महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने बताए। प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिवार देशभर एकसाथ हुने बताए । प्रतिनिधिहरुको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रिय कार्यालयमा पठाइसक्नुपर्ने उनको भनाइ छ। उनले प्रतिनिधि चयनका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानिएको बताए ।
एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १ हजार २ सय पार्टी सदस्य बराबर दुई जना खुला, एक जना महिला, एक जना ४० वर्ष मुनिका युवा गरेर हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा ४ जना निर्वाचित हुने उनको भनाइ छ । त्यसबाहेक अरेक ८ सय सदस्य संख्या थपिँदै जाँदा थप एक जना प्रतिनिधि चुनिने र त्यसमध्ये महिला अनिवार्य हुने बताए। उनले प्रतिनिधिमा न्युनतम एक तिहाई महिला सहभागिता गराउने दाबी गरे ।
दलित पार्टी सदस्यहरुको हकमा उनीहरुका लागि जिल्ला निर्वाचनको इकाइ हुने र हरेक पाँच सय दलित प्रतिनिधिमध्येबाट एक जना प्रतिनिधि निर्वाचित हुने बताए। आरक्षित क्षेत्रबाट ९ट्रेड युनियन० मा प्रदेशलाई इकाई मानिएको र प्रदेशमा रहेका ट्रेड युनियनका पार्टीमा कार्यरत पार्टी सदस्यहरुमध्येबाट दुई जना महिला र पाँच जना खुला गरेर सात जना हरेक प्रदेशबाट निर्वाचित हुने बताए । २३ वटा पार्टीका जनसंगठनबाट दुई जना महिला र तीन जना अनिवार्य हुने तथा महासंघीय ढाँचाका ६ वटा जनसंगठनबाट थप ७ जना प्रतिनिधि रहने उनको भनाइ छ ।
ृउनले पार्टीका ३२ वटा विभागहरुबाट हरेक विभागबाट एक जना र केन्द्रिय कार्यालयबाट एक जना चयन हुने बताए। पार्टीका प्रदेश कमिटीबाट तीन जना खुला र दुई जना महिला गरी पाँच जना निर्वाचित हुने र प्रवासमा रहेका ६ वटा महादेशस्तरका संगठनबाट हरेकबाट पाँच जनाका दरले निर्वाचित हुने उनको भनाइ छ । ९ सय ७० तल्लो संगठनहरुबाट, विशेष जिल्लाहरुबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवासबाट ३०, केन्द्रिय विभाग र कार्यालयबाट ३३, जनसंगठनबाट १२७ गरी करिव २ हजार १ सय सदस्य हुने बताए । उनले पदेनमा केन्द्रिय कमिटीबाट ३ सय ५४ जना, अनुशासनबाट २९, लेखाबाट ३०, निर्वाचनबाट २५ जना, सल्लाहकारबाट २५ जना गरी ४ सय ६४ जना पदेन प्रतिनिधि रहने बताए ।
संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि जनपरिचालन गर्ने योजनाअनुसार देशभरका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कार्तिक २२ गते जनभेला, कार्तिक २५ गते प्रत्येक पालिकामा प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा कार्तिक २९ गते जनसभा गर्ने र काठमाडौंमा मंसिर ६ गते जनसभा गर्ने निर्णय भएको उनको भनाइ छ।
विधान महाधिवेशनबाट आएका सुझावहरुलाई परिमार्जन गरी कार्तिक २० गतेसम्म अन्तिम रुप दिने निर्णय भएको बताए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE