ठगीका मुद्दाबारे रास्वपा सभापति लामिछाने भन्छन्– जनताको मुद्दा बोकेर हिँडेको मान्छे, लड्दै गरौँला
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आफू जनताको मुद्दा बोकेर हिँडेको दाबी गर्दै आफूमाथि लागेका मुद्दाको कुनै प्रवाह नभएको टिप्पणी गरेका छन्। सोमवार जनकपुरधाममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो टिप्पणी गरेका हुन। उनले गत निर्वाचनमा चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसदबाट बाहिरिनुपरेको बताए । उनले आसन्न निर्वाचनबाट रास्वपाले सबैभन्दा धेरै मत ल्याएर संसदमा प्रवेश गर्ने दाबी पनि गरे । उनले जनताको समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको दाबी गर्दै पार्टीले परिवर्तनका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने , ‘जब चितवनका जनताले मलाई अत्याधिक भोट दिएर मलाई पठाएका थिए । छलछाम गरेर मलाई संसदबाट निकालियो । हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौँ । मेरो टाउकोमा लागेका मुद्दाहरुको कारण प्रत्येक दिन देशको कुनै न कुनै अदालतमा मैले उपस्थित हुनुपर्छ । मलाई प्रवाह छैन । जनताको मुद्दा बोकेर हिँडेको मान्छे लड्दै गरौँला, जित्दै गरौँला, हारे हारिन्छ, जिते जितिन्छ ।
उनी पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र आफूबीच पाँच मिनेटमै एकताको टुंगो लागेको दाबी पनि गरे । उनले सबैलाई वर्ग र समूदायका समस्याको सम्बोधन गर्न आफूहरु प्रतिबद्ध रहेको भन्दै आउँदो चुनावमा बहुमतले जिताइदिन मधेशवादीलाई आग्रह पनि गरेका छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE