सञ्चार उद्यमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्यारालाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ ।
हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेसन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । २०६७ साल साउन ६ गते अपराह्न तुलसीपुर–१२, जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेका हेमराज रेडियो तुलसीपुरका अध्यक्षसमेत थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अपराधीलाई कारबाही गर्नु राज्यको कर्तव्य भएको बताउँदै सञ्चार उद्यमी हेमराजका हत्याराको पहिचान गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिबद्धता जनाए ।
‘१५ वर्षसम्म पनि सञ्चार उद्यमीका हत्यारा पत्ता नलाग्नु दुःखद हो,’ गृहमन्त्रीले भने, ‘ढुक्क हुनुस्, घटनालाई गम्भीर रूपमा लिएर तत्काल अनुसन्धान गरी कारबाही गर्न म आईजीपीलाई निर्देशन दिन्छु ।’
घटनाको अनुसन्धान हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको भए पनि हालसम्म कुनै ठोस उपलब्धि नआएको मृतक हेमराजका भाइ पुष्कर धितालको गुनासो छ । उनका अनुसार प्रहरी अझैसम्म हत्याराको स्केच समेत बनाउन सफल भएको छैन ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE