राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राज्य संरचनामा रहेका जिम्मेवार व्यक्तिहरूको सोच र कार्यशैलीमा परिवर्तन नआउँदा दलित समुदायको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको बताएका छन् ।
बिहीवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले मुलुकमा उत्कृष्ट संविधान र कानून निर्माण भएपनि त्यसले दलित समुदायको दैनिक जीवनमा परिवर्तन ल्याउन नसकेको उल्लेख गरे। अध्यक्ष विश्वकर्माले दलित समुदाय अझै पनि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकताबाट वञ्चित हुनुपरेको बताए । दलित समुदायको उत्थान र मूलप्रवाहीकरणका लागि बजेट विनियोजन गर्दा त्यसलाई ‘अनुत्पादक खर्च’ मान्ने प्रवृत्ति अहिले पनि हाबी रहेको उनको तर्क छ । दलित अधिकार र महिला अधिकारका विषयमा कुरा गर्दा त्यसलाई हिंसा भड्काउने कार्यका रूपमा बुझ्नु गलत भएको भन्दै उनले विभेदका विषयमा खुला बहस र संवाद आवश्यक रहेको बताए । दिगो विकास लक्ष्यको ‘कसैलाई पछाडि नछोडौँ’ भन्ने नारालाई स्मरण गराउँदै अध्यक्ष विश्वकर्माले युगौँदेखि किनारीकृत दलित समुदायलाई बाहिर राखेर मुलुक अगाडि बढ्न नसक्ने बताए । उनले राज्य निश्चित व्यक्ति वा ‘सुकिलामुकिला’ वर्गको मात्र नभई सीमान्तकृत र आर्थिक–सामाजिक रूपमा पिछडिएका सबै नागरिकको साझा हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ । आधारभूत आवश्यकताहरू—गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनुपरेको अवस्था छ । हामीले राम्रो संविधान बनायौँ, केही ऐन–कानूनको व्यवस्था पनि ग¥यौं, तर संविधान र ऐन–कानूनका व्यवस्थाले मात्र जनताको जीवन परिवर्तन नहुने रहेछ । राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा नै राज्य व्यवस्था मुखरित हुँदो रहेछ । दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैलीमा मनुस्मृति र १९१० को मुलुकी ऐनकै प्रतिबिम्ब झल्किरहेको जस्तो देखिन्छ । दलित समुदायको उत्थान र मूलप्रवाहीकरणका लागि रकम विनियोजन गर्नुपर्दा त्यसलाई अनुत्पादक खर्चका रूपमा हेर्ने मानसिकता अहिले पनि हावी छ । दलितको कुरा गर्नु भनेको दलितमाथि हिंसा थोपर्नु हो भन्ने कतिपय मानिसहरूको मान्यता रहेको देखिन्छ। त्यसैगरी, महिला अधिकारको कुरा गर्नु भनेको महिला हिंसा सिकाउनु हो भन्ने बुझाइ पनि रहेको देखिन्छ । विगतमा भएका र अहिले पनि भइरहेका विभेदका विषयमा सघन छलफल र संवाद गरिएन भने हामीले समस्याको सही समाधान गर्न सक्दैनौँ । त्यसैले यस विषयमा खुलेर बहस गर्नुपर्छ भन्ने आयोगको मान्यता रहेको छ । खुलेर बहस गर्नुको अर्थ विभेद सिकाउनु होइन । समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न यसले महत्वपूर्ण भुमिका खेल्छ भन्ने हामीलाई लाग्छ । दिगो विकास लक्ष्यको आदर्श वाक्य ‘कसैलाई पनि पछाडि नछोडौँ’ रहेको छ । तर युगौँदेखि किनारीकृत दलित समुदायलाई हामीले बिर्सिरहेका छौँ र उनीहरूबिनै पनि हामी अगाडि बढ्नसक्छौँ भन्ने सोच पालिरहेका छौँ । दलितको कुरा आउँदा झिझो मान्ने र अनिच्छा प्रकट गर्ने प्रवृत्ति बारम्बार दोहोरिरहेको देखिन्छ । राज्य सुकिला–मुकिला वा स्वघोषित योग्यहरूको मात्रै होइनस कमजोर, फोहोरमैला जीवन बाँचिरहेका र जबर्जस्ती अनन्त अयोग्यताको दुष्चक्रमा धकेलिएकाहरूको पनि हो भन्ने सत्यलाई हामीले नबुझ्ने हो भने राज्य केही व्यक्तिहरूको मात्रै हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ । राष्ट्रिय दलित आयोगले राज्य कमजोर र पिँधमा धकेलिएकाहरूको पनि हो भन्ने मान्यताको पैरवी गरिरहेको छ । राज्य स्थापनादेखि राज्यका जति पनि साधन–स्रोतहरू छन्, ती निश्चित व्यक्ति र निश्चित समुदायको हातमा मात्र केन्द्रित भइरहेका छन् भन्ने विभिन्न अध्ययनका तथ्यहरूले देखाएका छन् । त्यसैले अहिले राज्यका तर्फबाट अवलम्वन गरिएको सकारात्मक विभेदको नीतिलाई पनि विभिन्न ढंगले उपहास गर्ने र बदनाम गर्ने प्रयत्न भइरहेका छन् । मानवको दर्जासमेत नपाएका दलित समुदायको हक–अधिकारको विषय कसैका लागि पनि उपहासको विषय बनाइनु हुँदैन भन्ने हाम्रो मान्यता छ । सोही अनुसार राज्यका सबै निकायहरूलाई हामीले आफ्नो तर्फबाट आवश्यक भुमिका निर्वाह गर्न आग्रह गर्दै आएका छौँ ।’
अध्ययनहरूले राज्यका स्रोत र साधनहरू अझै पनि निश्चित समुदायको पकडमा रहेको देखाएको उल्लेख गर्दै उनले हाल राज्यले अवलम्वन गरेको ‘सकारात्मक विभेद’ को नीतिको उपहास भइरहेकोमा चिन्ता व्यक्त गरे । दलित समुदायको हकअधिकारको विषयलाई कसैले पनि उपहासको विषय बनाउन नहुने भन्दै राष्ट्रिय दलित आयोगले यसका लागि निरन्तर पैरवी गरिरहने उहाँले प्रतिवद्धता व्यक्त गरे।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE