बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

दाउन्ने खण्डको सडक ३० वर्षसम्म टिक्ने, निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यस खण्डमा गरिएको ढलान (कङ्क्रिटिङ) को आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालकाअनुसार दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको हो । ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेको र यदी भार नियन्त्रण हुनसके र डिजाइन अनुसारका अन्य मापदण्डहरू पालना भए ४० वर्षसम्मै ढलान टिक्ने उनको दाबी छ । जसले नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुने उनको विश्वास छ । उनले सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको जानकारी दिए । आगामी २० देखि ३० वर्षको सवारी चापको पूर्वानुमान (फोरकास्ट) लाई आधार मानेर दैनिक १२ देखि २० हजार सवारी साधन आवतजावत गर्दा पनि सडकमा कुनै क्षति नपुग्ने गरी यसको निर्माण गरिएको उनको भनाइ छ । हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिव ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको छ । सडकको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारु भइसकेको ढकालले बताए ।

ढकालले भने, ‘हामीले ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेका छौँ । यदि भार नियन्त्रण भयो र डिजाइनअनुसारका अन्य मापदण्डहरू पालना भएमा यो सडक ३० देखि ४० वर्षसम्म टिक्नेछ, जसले गर्दा नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुनेछ । दैनिक १२ देखि २० हजारसम्म सवारी साधन आवतजावत गरे पनि यो सडकलाई केही असर पर्दैन । हामीले आगामी तीन दशकको ट्राफिक फोरकास्टलाई हेरेर नै यो संरचना तयार गरेका हौँ ।’

कालोपत्रे गर्दा सडक छिटो बिग्रने र सर्वसाधारणले निरन्तर सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलाईको विकल्प रोजेको हो । यससँगै दाउन्ने खण्डमा वर्षेनी हुने सडक अवरोध र मर्मतको समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास सरकारले लिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x