आज भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदैछ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३ सय वर्ष अघि नै सुरु भएको हो ।
किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्काेटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन्।् ।
मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । त्यस पश्चात आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ ।
अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गर्दै आएका छन् । भोटो जात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE