राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६–२८ मा काठमाडौंमा गर्ने निर्णय
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रिय महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीको शुक्रवार र शनिवार बसेको केन्द्रिय समितिको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिमा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रिय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भ्रातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन् । आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रिय कार्यसम्पादन समितिलाई दिएको अध्यक्ष लिङदेनले जानकारी दिए। बैठकले केन्द्रिय निर्वाचन समितिले प्रश्तुत गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ । पारित कार्यतालिकाअनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ । सक्रिय सदस्यता वितरण अभियानलाई पनि भदौ मसान्तसम्म सञ्चालन गरिने उनकाे भनाइ छ । सो अवधिभित्र सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरू मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ । भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरू मात्र केन्द्रिय महाधिवेशनमा सहभागी हुन योग्य हुने अध्यक्ष लिङदेनले जानकारी दिए ।
असोज १५ देखि २४ गतेभित्र सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने राप्रपाले निर्णय गरेको छ । कार्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् । छनोट भएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्नेछ । साथै, प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिने व्यवस्था पनि गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE