बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुम्वासीको बिचल्लीः भन्छन्–‘अब नदीमा हाम फाल्नुको विकल्प छैन’

काठमाडौं । काठमाडौंका सुकुम्वासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ ।

१५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिवद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका हुन् । मध्यरात करिव पौने १ बजेबाट सेन्टरमा बाढी पस्न शुरु गरेको थियो । अचानक बाढी पसेपछि त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन् । पीडित दलमर्दन कामीले खाजा भनेर एउटा मिठाइ दिने काम मात्रै गरेको आरोप लगाए आफैँ बसेको स्थानमा जान पनि पीडितहरुलाई नदिइएको उनको गुनासो छ । बाढीले रातभर सुत्न नदिइएको बताउँदै आफूहरुलाई अब मर्नुको विकल्प नरहेको बताए ।

स्थानीय पीडित कान्छीमाया घलानकाअनुसार सुतिरहेको अवस्थामा अचानक पानी पसेपछि लुगाफाटो र खाद्यान्न जोगाउन समेत मुस्किल भएको थियो । बाढीका कारण धेरैजसोको ओढ्ने–ओछ्याउने र दैनिक उपभोग्य सामग्रीहरू पूर्ण रूपमा भिजेर नष्ट भएका छन् । उनले बाढी पसेपछि छाता र हातमा भएको मोबाइल बाहेक अरु सामान उठाउन नसकेको बताइन् । तीन बजेमात्रै सुरक्षाकर्मीहरु उद्धारका लागि सेन्टरमा आएको उनको भनाइ छ । १५ दिनका लागि भनेर आफ्नो घर भत्काएर ल्याएको बताउँदै उनले यत्तिका दिसम्म पनि आफुहरुको उचित व्यवस्थापन गर्न नसकेको गुनासो गरिन् ।

अर्की एक पीडितले १५ दिनका लागि भनेर ल्याउने र उचित व्यवस्थापन नगरेको भन्दै सरकारले के गर्न खाजेको भन्दै प्रश्न गरिन् । सरकारमा भएका मानिसहरु पनि एक दिन मर्नुपर्छ भनेर हेक्का राख्न चेतावनी दिइन् । सरकारले आफूहरुमाथि अत्याचार गरेको उनको गुनासो छ । अर्की एक पीडितले सरकारले यहाँ पानी पस्छ र सुकुम्बासी आफैँ भागेर जान्छन् भन्ने मनशायले ल्याएको आरोप लगाइन् । सरकारले व्यवस्थापन गरेको भए अहिलेको अवस्था नहुने उनको भनाइ छ ।

अर्का पीडित डम्बर तामाङले बाढीले आफ्नो करिव एक लाख बराबरको धनमाल क्षति भएको जानकारी दिए । चप्पल नभएकाले बालबच्चाहरु खालि खुट्टै हिँड्नुपरेको उनको भनाइ छ ।

सेन्टरमा मुटु रोगी, मिर्गौलाका बिरामी र दमका रोगीहरू समेत रहेकाले चिसो र ओसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । बस्तीका बासिन्दाहरूले सरकारले आफूहरूलाई आश्वासन दिएर अलपत्र पारेको आरोप लगाएका छन् । उनीहरूकाअनुसार १५ दिनको लागि भनेर ल्याइएको भएपनि तीन महिनासम्म कुनै ठोस व्यवस्थापन गरिएको छैन । सुरक्षाकर्मीहरूले समेत आफूहरूलाई बाहिर निस्कन अवरोध गरेको र अमानवीय व्यवहार देखाएको उनीहरूको गुनासो छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गरिन् । उनले हाल प्रभावितहरूका लागि खाना, सुत्नका लागि डस्ना, ब्ल्याङ्केट र स्वास्थ्य सेवाको प्रवन्ध भइरहेको बताइन्।

वर्षायाममा सुरक्षित वासस्थानको अभावमा रहेका यी सुकुम्वासी परिवारहरूले तत्काल उचित व्यवस्थापन र क्षतिको क्षतिपूर्ति माग गरेका छन् । सरकारले संवेदनशील भएर समस्या समाधान नगरे स्थिति अझ भयावह हुनसक्ने देखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x